सत्ता छोड्ने दिनसम्म पनि पूर्णहौसलासाथ सरकारले काम गरोस् : सभापति लामिछाने

सत्ता छोड्ने दिनसम्म पनि पूर्णहौसलासाथ सरकारले काम गरोस् : सभापति लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा भेट गर्दै सत्ता छोड्ने अघिल्लो दिनसम्म पनि यो सरकारले गर्ने सबै कामको अपनत्व आउने सरकारले लिने बताएका छन् । प्रधानमन्त्री कार्कीले प्रमुख दलका नेताहरुलाई बालुवाटारमा नै बोलाएर चुनाव सफलतापूर्वक सम्पन्न गर्न खेलेको भूमिकाको लागि धन्यवाद दिनेक्रममा रास्वपाका सभापतिलाई बोलाएकी हुन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे ।

उनले भने, ‘समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु।’
विश्वलाई नै चकित पार्ने गरी निर्वाचनमार्फत मुलुकलाई लोकतान्त्रिक निकास र सुरक्षित अवतरण गर्न तपाईँ सफल हुनुभएको छ। यसका लागि तपाईँप्रति हाम्रो उच्च सम्मान छ। तपाईँको यो योगदान मुलुकले सधैँ सम्झिनेछ। हामी पनि सम्झिइरहनेछौँ। आगामी दिनमा पनि यहाँको निरन्तर मार्गदर्शन र अभिभावकीय भूमिकाको अपेक्षा राखेका छौँ। तपाईँको अनुभव र मार्गदर्शन देशलाई र हाम्रो सरकारलाई अझै आवश्यक पर्नेछ।’

प्रधानमन्त्री कार्कीले ‘अहिले देश रोएको छ। तपाईँ युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्। तपाईँहरुले देशको मुहारमा मुस्कान ल्याउन सक्नुपर्नेछ। चुनौती धेरै छन् तर सम्हालिएर अघि बढ्नू,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘इमानका साथ काम गरे अपेक्षित नतिजा अवश्य पाइन्छ। विरोध र आलोचना गर्नेहरुलाई कामबाटै जवाफ दिन सक्नुपर्दोरहेछ।’
सभापति लामिछानेले यो सरकारले गरेका निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुनै आपत्ति नरहेको पनि स्पष्ट पारे ।

‘सरकार भनेको सरकार नै हो। अन्तिम दिनसम्म यसले काम गर्न पाउँछ। यो सरकारले गरेका निर्णयमा हाम्रो कुनै आपत्ति छैन,’ उनले भने, ‘अझ यो ऐतिहासिक अभिभारा पूरा गरेको सरकारका प्रति त हाम्रो उच्च सम्मान छ। त्यसैले यो सरकारका कदममा साथ दिन्छौँ र निर्णय पनि हामी शिरोपर गर्छौँ।’

उनले अर्को सरकार नआउँदासम्म गर्न सकिने काम पूर्ण क्षमताका साथ गर्न पनि सुझाव दिए ।

पोर्चुगलमा नेपाली विद्यार्थीले भोगेका समस्या, मध्यपूर्वमा व्याप्त तनावका बीच नेपाली श्रमिकको सुरक्षा र पेट्रोलियम पदार्थको आपूर्तिका विषयमा पनि चासो राख्दै यी विषयमा पनि उचित कदम चाल्न आग्रह गरेका थिए ।