काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतले संसदीय राजनीतिबाट सन्यास लिएका छन् ।
राउतले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति जारी राख्ने बताएका छन् ।
उनले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहेन बताएका छन् । ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु’, उनले लेखेका छन् ।
यस्तो छ उनको सन्यास घोषणा
१. २०७५ सालमा अब ‘स्वतन्त्र मधेश गठबन्धन’ लाई सरकारले बिलकुलै कुनै काम गर्न नदिए पछि र जनतामा जान पूर्णतः रोक लगाए पछि पार्टी खोल्नु पर्यो भनेर हामीले निर्णय गर्यौं। सो पार्टीको अध्यक्ष बन्नका लागि नरेन्द्र प्रसाद चौधरीज्यू सहितका साथीहरूलाई जनकपुरमा बोलाएर पटक(पटक कन्भिन्स गरें। उहाँहरूले न माने पछि म आफैं जनमत पार्टीको अध्यक्ष बन्नु परेको थियो।
२. २०७९ सालको आमनिर्वाचन आफू नलड्ने तर पार्टी बनाएको संस्थापक अध्यक्षको हैसियतमा पार्टीलाई सफलतापूर्वक निर्वाचन पार गराइदिने विचार थियो। आफूले भक्तपुरको बैठकमा नै सो कुरा राखेंः मलाई समानुपातिक प्रत्यक्ष कतै लड्नु छैन, तर म निर्वाचनमा पार्टीको लागि जे पनि गर्न तैयार छु। तर बसन्तजी सहितका साथीहरूले कन्भिन्स गरेः तपाईं लड्नु भएन र एक सीट पनि आएन भने हाम्रो पार्टी त शुरू हुनुभन्दा अगाडि नै अन्त्य हुन्छ, तपाईं लड्नै पर्छ। सांसद र मन्त्री बन्नु छैन भन्ने स्पष्ट रहँदै व्यक्तिगत ईच्छा नहुँदा नहुँदै पनि निर्वाचनमा लडें, तर परिणाम आए पछि लाग्योः सल्लाह मानेर एकदम ठिक गरेको रहेछु। नलडेको भए त साँच्चिकै जनमत पार्टी राष्ट्रिय पार्टी नबन्ने रहेछ, संसदमा नै नजाने रहेछ। कम्तीमा आफूले १ सीट प्रत्यक्षमा जित्दा अरू ५ सीट समानुपातिकमा पाएर जनमत पार्टी राष्ट्रिय पार्टी बन्न सफल भयो।
३. कतिखेर संसदीय र पदको राजनीतिबाट विश्राम लिऔं भनेर मौका खोज्दा(खोज्दा २०८२ को निर्वाचन नलड्ने पक्कापक्की थियो।
सोही अनुरूप सप्तरी-१ र सप्तरी-२ मा उम्मेदबार खोज्दा(खोज्दा मनोनयन दर्ताको दिन करीब ३ नै बज्यो। म नलड्ने भनेर सप्तरी(१ र सप्तरी-२ का लागि दुई जना उम्मेदबारहरूको फारम पनि भरियो तर यसलाई अकस्मात् जनता र समर्थक समक्ष कसरी लग्ने, कसरी जवाब दिने भनेर अन्यौलता रहयो। त्यही भएर जिल्ला इन्चार्जलाई ५/६ जना मात्रै गएर दर्ता गर्ने, कुनै जुलुसहरू नल्याउन भनेर निर्देशन दिइयो ताकि जम्मा भएको भीडलाई कुनै ‘शक’ नलागोस्। तर अन्तिम क्षणमा हाम्रो मेयर साहब सहितका केही साथीहरूले सम्झाउनु भयोः तपाईं लड्नु भएन भने पार्टीका उम्मेदबार र कार्यकर्ताको मनोबल गिर्छ, पार्टीले राम्रो गर्दैन, दोष तपाईंलाई आउँछ, बरू तपाईं जिते पछि राजीनामा दिनु होला। मलाई के लाग्थ्यो भनेः यसपालि त म बिना पनि कम्तीमा ४(५ सीट प्रत्यक्षमा आउँछ नै, म नउठे पनि। त्यही भएर म उठिरहनु उचित देख्दिनथें। अन्ततः व्यक्तिगत ईच्छा विपरीत फेरि पनि पार्टी र उम्मेदबारको मनोबल गिर्न नदिन उठियो। परिणाम आए पछिः फेरि हिस्स। फेरि लाग्योः सल्लाह मानेर र उठेर ठीकै गरेको रहेछु। नउठेको भए जनमत पार्टीबाट कोही नजित्नु, जनमत पार्टी राष्ट्रिय पार्टी नबन्नुमा सबै दोष मलाई नै आउँथ्यो ९जबकि यस लहरमा परिस्थिति बिलकुल भिन्न छ०। त्यसैले साथीभाइको सल्लाह मान्दै दोस्रो पटक पनि उठेर ठीक गरेछु भनेर एकदम लाग्छ।
यसपछाडि मनमा अन्य कुनै लोभलालच पलाओस् वा पद(लालसा आओस्, वा मायाजालमा झन्झन् अल्झिँदै जाऊँ, त्योभन्दा अगाडि नै म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छुः म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन। राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु।
साथै, जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनको लागि तैयारी गराउन प्रतिबद्ध छु।
म सदैव तपाईंहरूको बीचमा नै रहनेछु, हरेक मोर्चा र संघर्षमा तपाईंहरूसँगै खडा हुनेछु,अधिकार र पहिचानको लडाईँमा सदैव भूमिका निर्वाह गर्नेछु।
डा. सी. के. राउत
२०८२ चैत्र १ गते आइतबार
मेरे सीने में नहीं तो तेरे सीने में सही
हो कहीं भी आग, लेकिन आग जलनी चाहिए
जय मधेश, जय स्वराज

प्रतिक्रिया