होबार्ट।तास्मानियामा सञ्चालन भइरहेको दोस्रो नेपाली प्रिमियर लिग (टीएनपीएल) क्रिकेट प्रतियोगिता उत्साहपूर्ण वातावरणबीच सुरु भएको छ। प्रतियोगिताको पहिलो दुई दिन शनिबार र आइतबार गरी चार खेल सम्पन्न भएका छन्। खेलहरूमा स्थानीय नेपाली समुदायको उल्लेखनीय उपस्थिती देखिएको थियो भने दोस्रो पुस्ताका नेपाली बालबालिका समेत परिवारसँगै मैदानमा उपस्थित भई खेलको मज्जा लिइरहेका देखिन्थे।
तास्मानियन नेपाली क्रिकेट एसोसिएसन (टीएनसीए) को आयोजनामा सञ्चालन भइरहेको यस प्रतियोगितालाई ग्लेनोर्की सिटी काउन्सिलको अनुदान सहयोग प्राप्त भएको छ भने टासल समूह सहयोगी संस्थाको रूपमा रहेको छ। साथै तास्मानियामा रहेका विभिन्न स्थानीय नेपाली व्यवसायीहरूले पनि टीएनसीएलाई आर्थिक तथा व्यवस्थापन सहयोग प्रदान गरेका छन्।

शनिबार न्यूटाउनस्थित कोर्नेलियन बे मैदानमा प्रतियोगिताको उद्घाटन खेल ग्रेस डायनामोज र पेनी रोयल्सबीच सम्पन्न भएको थियो। टस जितेर ग्रेस डायनामोजले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। २० ओभरको खेलमा ग्रेस डायनामोजले १८२ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको थियो। टोलीका लागि सन्दीप अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ८२ रन जोडेका थिए।
१८२ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको पेनी रोयल्सले निर्धारित २० ओभरमा १५२ रन मात्र बनाउन सक्यो। पेनी रोयल्सका लागि आशिष चन्दले उत्कृष्ट ८८ रन बनाए पनि टोलीलाई जित दिलाउन पर्याप्त हुन सकेन। यस खेलमा ग्रेस डायनामोजका शरद राजभण्डारी उत्कृष्ट खेलाडी घोषित भए। उनले ४ ओभर बलिङ गर्दै २६ रन मात्र खर्चिएर ४ विकेट लिन सफल भएका थिए।
शनिबार नै भएको दोस्रो खेलमा बेस्ट स्ट्राइकर्सले डाँफे रेन्जर्सलाई ७ विकेटले पराजित गर्यो। पहिले ब्याटिङ गरेको डाँफे रेन्जर्सले ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य बेस्ट स्ट्राइकर्सले १३ ओभरमै सहज रूपमा पूरा गर्यो। यस खेलमा बेस्ट स्ट्राइकर्सका रुपक रावत उत्कृष्ट खेलाडी घोषित भए। उनले ४ ओभर बलिङ गर्दै १६ रन मात्र खर्चिएर ४ विकेट लिएका थिए।

आइतबार (मार्च १५) प्रतियोगिताका खेलहरू ग्लेनोर्कीस्थित एडी स्ट्रिट ओभल मैदानमा सम्पन्न भए। बिहान भएको पहिलो खेलमा बेस्ट स्ट्राइकर्सले पेनी रोयल्सलाई २२ रनले पराजित गर्यो। बेस्ट स्ट्राइकर्सले पहिले ब्याटिङ गर्दै २० ओभरमा १५२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पेनी रोयल्सले निर्धारित २० ओभरमा १३० रन मात्र बनाउन सक्यो। यस खेलमा बेस्ट स्ट्राइकर्सका राजन मगर उत्कृष्ट खेलाडी घोषित भए। उनले २४ बलमा ३६ रन बनाउनुका साथै बलिङतर्फ ३ विकेट लिएर टोलीको जितमा महत्वपूर्ण योगदान दिएका थिए।
आइतबारकै दोस्रो खेल ग्रेस डायनामोज र डाँफे रेन्जर्सबीच सम्पन्न भएको थियो। ग्रेस डायनामोजले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा डाँफे रेन्जर्स १३७ रनमै अलआउट भयो। यस खेलमा ग्रेस डायनामोजका सन्दीप अधिकारी उत्कृष्ट खेलाडी घोषित भए। उनले ३६ बलमा ५४ रनको उत्कृष्ट इनिङ्स खेलेका थिए। साथै बलिङतर्फ २ विकेट लिनुका साथै फिल्डिङमा २ क्याचसमेत लिएका थिए।

प्रतियोगिताको पहिलो दुई दिनमै मैदानमा दर्शकहरूको उल्लेखनीय उपस्थिती देखिएको थियो। तास्मानियामा बसोबास गर्ने नेपाली समुदाय ठूलो संख्यामा खेल हेर्न पुगेका थिए। विशेषगरी दोस्रो पुस्ताका नेपाली बालबालिकाहरू पनि परिवारसँगै मैदानमा उपस्थित भई खेलप्रति उत्साह देखाउँदै रमाइरहेका देखिन्थे।
प्रतियोगिताको कमेन्ट्री निराजन भण्डारीले गरिरहेका छन्। उनको ऊर्जावान र आकर्षक कमेन्ट्रीलाई दर्शकहरूले निकै सकारात्मक प्रतिक्रिया दिएका छन्। प्रतियोगिताका सम्पूर्ण खेलहरू एक्सोटिक लेनमार्फत प्रत्यक्ष प्रसारण भइरहेको आयोजकले जनाएको छ।

पहिलो दुई दिन सम्पन्न खेलपछि ग्रेस डायनामोज र बेस्ट स्ट्राइकर्स दुवैले लगातार दुई–दुई खेल जित्दै प्रतियोगितामा बलियो सुरुवात गरेका छन्। दोस्रो नेपाली प्रिमियर लिग क्रिकेट प्रतियोगिता अप्रिलको पहिलो सातासम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
तस्बिर: जितेन फोटोग्राफी / एक्सोटिक लेन












प्रतिक्रिया