एनआरएनको अध्यक्ष हेमराज शर्मा बन्ने निश्चित, अन्य पदाधिकारीमा सहमति जुटाइँदै !

एनआरएनको अध्यक्ष हेमराज शर्मा बन्ने निश्चित, अन्य पदाधिकारीमा सहमति जुटाइँदै !



काठमाडौं ।

गैरआवासीय नेपाली संघको १२ औं अधिवेशनको नयाँ नेतृत्वबारे आज घोषणा हुँदैछ । अध्यक्षमा सहमति जुटेपछि अन्य पदहरुमा के गर्ने भन्ने टुंगो लागिसकेको छैन । तर, उम्मेद्वारी दिएकाजति सबैलाई पद दिएर, कसैलाई अर्को पदमा व्यवस्थापन गरेर नै भएपनि सहमति जुटाउने यस पटकको तयारी छ ।

मध्यपूर्वमा चलेको युद्ध, दुई पक्षबीच एकता भएपनि अध्यक्षहरुको एकतालाई विभिन्न देशमा रहेका एनसीसीहरुमा एकता गराउन नसक्नु अनि सबैभन्दा ठूलो कुरा अहिले सहमति नगरेमा नयाँ चुनावबाट आएको जनमतका कारण आफुहरुको योजना पनि तुहिने हो कि भन्ने डरकाबीच सहमतिको वातावरण बनेको धेरैको अनुमान छ । हिजो दिनभर भएको छलफलबाट अध्यक्षमा डा. हेमराज शर्मा हुने निश्चित बनेको छ । उम्मेद्वारी दिएकामध्ये रोविन शेरचनलाई वरिष्ठ उपाध्यक्ष दिने र अर्को पटक अध्यक्षमा समेत सहयोग गर्ने लगायतको सहमति भएको बताईन्छ ।

गत मंसिर दोस्रो साता वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले एकताबद्ध नहुने हो भन दुबै संस्था खारेज गरिदिने बताएपछि मिल्ने बाध्यता आइपरेको थियो । त्यस लगत्तै एक भएर बढ्ने सहमति जुटेको थियो । अध्यक्ष बाहेकका अन्य सबै पदमा ५० प्रतिशतको भाग लगाउने सहमति जुटेको चर्चा छ । दुई जना महासचिव हुने र कम्तिमा पनि १२ जना उपाध्यक्ष हुने देखिएको छ ।

संघको पदाधिकारीको संख्या बढाउँदा विधान संशोधन गर्नुपर्ने हुन्छ । पदाधिकारीको संख्या र नाममा सहमति भइसकेपछि महाधिवेशनबाट विधान संशोधन पारित गरिने तयारी छ । परराष्ट्र मन्त्रालयले पनि सहमति भएर आउँछ भने तत्कालै विधान संशोधन गरिदिने आश्वासन दिएको छ ।