एनआरएनमा अर्को पटकदेखि सबै सदस्यले मतदान गर्ने व्यवस्था : अध्यक्ष बद्री केसी

एनआरएनमा अर्को पटकदेखि सबै सदस्यले मतदान गर्ने व्यवस्था : अध्यक्ष बद्री केसी


काठमाडौँ । गैरआवासीय नेपाली संघको १२औँ विश्व सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सहभागिता विविध कारणले प्रभावित भयो । मध्यपूर्वमा देखिएको युद्धको अवस्थाले केही प्रतिनिधि आउन मात्र पाएनन् उम्मेद्वारले पनि अनलाईनबाटै मनोनयन दिनुपर्ने अवस्था आयो । यससँगै ठूलो विवादपछिको यो सम्मेलन सार्न सकिन्थ्यो कि भन्ने प्रश्न पनि आयो । तर, अहिले सम्मेलन स्थगित गर्नुपर्छ भन्ने लवि अमेरिकामा थियो । अहिलेका महासचिवहरु र स्टेरिङ कमिटीमा समेत रहेका वीआर लामा, गौरी जोशी लगायतले सम्मेलन सार्नुपर्ने माग राखेका थिए । उनीहरुको त्यस मागको पछि मध्यपूर्व होइन प्रतिनिधि विवाद थियो । सबै सदस्हरुलाई चुनावमा भोट हाल्न दिनुपर्ने एजेन्डा यसअघि महेश श्रेष्ठ समूहकै थियो त्यसैलाई कार्यान्वयन गराउन यो तालमेल र गठबन्धन भएको थियो ।
अब सम्मेलनको चर्चा, सम्मेलनमा अहिले सहमतिको अध्यक्ष बनाउने प्रयास जारी छ । तीन जना उम्मेद्वार आकांक्षी मध्ये एकजनालाई सहमतिमा ल्याइसकिएको छ भने अर्को व्यक्तिलाई पनि सहमतिमा ल्याउन गाह्रो छैन ।

यसो हुन सकेको अवस्थामा हेमराज शर्मा नयाँ अध्यक्ष बन्नेछन् । तर, अध्यक्ष भन्दा उपाध्यक्ष, महासचिव लगायतका केही पदमा प्रतिस्पर्धा पेचिलो बनेको छ । तर, अन्त्यमा सहमति हुने संकेत अध्यक्ष बद्री केसीले दिइसकेका छन् । उनले तपाईंहरु जो यहाँ आउनुभयो के के पद चाहिन्छ सबै लिएर जानुस् भनेर उद्घाटन भाषणमै भनेका छन् । उद्घाटनको दिनको अर्को महत्वपूर्ण पाटो भनेको संस्थापक अध्यक्ष उपेन्द्र महतोको भाषण थियो । सदाझैं देश बने मात्र विदेशमा बस्ने नेपालीको ईज्जत हुन्छ भन्ने थेगो दोहोराएका उनले हल पूरै खाली छ, अर्को पटक यस्तो नहोस् भन्ने सन्देश दिए ।

जति व्यक्ति हलमा पुगेका छन् ति पनि विभिन्न तिकडम र सिन्डीकेटमा पुगेकाहरु छन् । यसरी हेर्दा एनआरएनको अन्तर्राष्ट्रिय कमिटी राजनीतिको चरम उत्कर्षमा छ । नागरिक सरकारले कुनैपनि हालतमा राजनीति नघुसाउन आग्रह गरेपनि एनआरएनमा राजनीति यति धेरै घुसेको छ कि यहाँ कुनै निर्वाचनले परिवर्तन ल्याउन सक्दैन । किनकि प्रतिनिधि हुने पूर्वपदाधिकारी हुन् । पदाधिकारी उठ्ने प्रक्रिया पूरा गर्दागर्दै सीमित व्यक्ति मात्र त्यसका लागि विधान बमोजिम उठ्न सक्छन् । बाँकी हेर्ने तमासे नै हो ।

संस्थाभित्रको बढ्दो राजनीतिक हस्तक्षेप र आन्तरिक गुटबन्दीका कारण एनआरएनएको साख दिनप्रतिदिन खस्कँदै गएको छ । होइन भने अमेरिका बस्ने मानिसले केशवको नाम लैख्दा भी वा बी ले फरक परेको जान्दा जान्दै धाँधली भयो भनेर अनलाईन चुनावमाथि नै धावा बोल्ने थिएन । त्यसकै पछि लागेर अहिले अध्यक्षको पगरी गुथेर गजक्क पर्नेहरुले संस्थालाई तीन कार्यकाल विवादमा राख्ने थिएनन् । सम्मेलनमा अध्यक्ष बद्री केसीले भने अब दुई दिन बाँकी छ मेरो कार्यकाल त्यसपछि नयाँ नेतृत्व आउँछ ।

खासमा उनी महासचिव रहेदेखि नै, कोषाध्यक्ष भएपछि नै उनीमाथि घेराबन्दी र आक्रमण सुरु भएको थियो । एनआरएनको एउटा समूह जो भूकम्पको बेला हालीमुहाली गरिरहेको थियो । तिनीहरुसँग विवाद गरेको आरोपमा तीनजना अध्यक्षहरु भवन भट्ट, कुमार पन्त र बद्री केसीलाई निरन्तर खेद्ने काम भएको हो । बद्री पनि निस्किए जब्बर उनले तीनवटै पदावधि कुशलतापूर्वक चलाए मात्र होइन संयुक्त र एकल गरेर लगभग दुई कार्यकाल अध्यक्ष पनि चलाए ।

एनआरएनएको १२औँ विश्व सम्मेलन नयाँ नेतृत्व चयन गर्दै मंगलबार सक्ने कार्यक्रम छ । यसपटक सहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको बताइएको छ । त्यसका लागि उद्घाटन सत्रपछि सघन छलफल भइरहेको अध्यक्ष श्रेष्ठले बताए ।

यसअघि नै भएको छलफलपछि अध्यक्षका उम्मेदवार रोविन शेरचनले आफ्नो उम्मेदवारी फिर्ता लिएर उपाध्यक्षमा बस्न राजी भइसकेका छन् । अन्य पदहरूमा पनि सहमति जुटाउनका लागि पहल भइरहेको श्रेष्ठको भनाइ छ ।

निर्वाचनबाट नेतृत्व चयन गर्दा विगतमा झैँ विवाद बढ्न सक्ने भएकाले सहमतिमा जोड दिइएको बताइएको छ । हालसम्म अध्यक्षमा हेमराज शर्मा र रविन बज्राचार्यको उम्मेदवारी रहेपनि रविनलाई फिर्ता लिन लगाएर शर्मालाई सर्वसम्मत अध्यक्ष बनाउने प्रयास भइरहेको हो । यस्तै महासचिवमा रामशरण सिम्खडा र चिरञ्जीवी खड्काको उम्मेदवारी रहेकामा सो पदमा पनि मिलाउनका लागि पहल भइरहेको छ । यस्तै केही पदमा भने सर्वसम्मत भइसकेको निर्वाचन समितिले जनाएको छ ।