तास्मानियामा दोस्रो नेपाली प्रिमियर लिगको तयारी पूरा, उद्घाटन समारोह शनिबार कोर्नेलियन बेमा

तास्मानियामा दोस्रो नेपाली प्रिमियर लिगको तयारी पूरा, उद्घाटन समारोह शनिबार कोर्नेलियन बेमा


होबार्ट। तास्मानियामा आयोजना हुन लागेको दोस्रो नेपाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उद्घाटन समारोह यही मार्च १४ शनिबार न्यूटाउनस्थित कोर्नेलियन बे मैदानमा सम्पन्न हुने भएको छ।

यस प्रतियोगितासम्बन्धी जानकारी आज मुनास्थित एमकट हलमा आयोजित पत्रकार सम्मेलन तथा ट्रफी अनावरण कार्यक्रममार्फत सार्वजनिक गरिएको हो।

कार्यक्रम संयोजक प्रज्वल ढकालका अनुसार यस वर्षको प्रतियोगितामा चार फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगितामा ग्रेस डाइनामोज, डाँफे रेन्जर्स, पेनी रोयल्स र बेस्ट स्ट्राइकर्स सहभागी रहनेछन्। नेपाली प्रिमियर लिग (टीएनपीएल) को पहिलो सिजनको उपाधि ग्रेस डाइनामोजले जितेको थियो।यस सिजनमा पाँच हजार डलर बराबरको पुरस्कार राशि राखिएको छ। तास्मानियामा रहेका नेपाली क्रिकेटप्रेमीहरूका लागि यो प्रतियोगिता विशेष उत्साह र आकर्षणको विषय बनेको आयोजकले बताएका छन्।

पत्रकार सम्मेलनमा बोल्दै तस्मानियन नेप्लिज क्रिकेट एसोसिएसनका अध्यक्ष कमल भण्डारीले प्रतियोगिताको दोस्रो संस्करण सफल बनाउन सहयोग पुर्‍याउने ग्लेनोरकी सिटी काउन्सिल, टासल समूह, सम्पूर्ण फ्रेन्चाइज टोली, स्वयंसेवक, खेलाडी, सामुदायिक अगुवा, पत्रकार, व्यवसायिक समुदाय तथा खेलप्रेमी दर्शकहरूप्रति धन्यवाद व्यक्त गरे। उनले उद्घाटन समारोहमा सहभागी भई खेलाडीहरूको मनोबल उच्च बनाउन सबैमा आग्रह पनि गरे।

पत्रकार सम्मेलनमा सहभागी फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूले समुदायस्तरको क्रिकेट विकास तथा खेलाडीहरूका लागि यस्तो अवसरमूलक मञ्च सिर्जना गरेकोमा तास्मानिया नेपाली क्रिकेट एसोसिएसन तथा नेपाली प्रिमियर लिग आयोजक समितिलाई धन्यवाद व्यक्त गरेका थिए। उनीहरूले प्रतियोगितालाई केवल खेल प्रतिस्पर्धा मात्र नभई खेलाडीहरूबीच भाइचारा, एकता र आपसी सद्भाव अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

पत्रकार सम्मेलनमा समुदायका विभिन्न क्षेत्रका प्रतिनिधि, क्रिकेटकर्मी, क्रिकेट तास्मानियाका प्रतिनिधिहरू तथा चारवटै फ्रेन्चाइज टोलीका कप्तान, उपकप्तान र खेलाडीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन एसोसिएसनका कोषाध्यक्ष रोहित बस्नेतले गरेका थिए।

तस्मानियन नेप्लिज क्रिकेट एसोसिएसन(टीएनसीए) ले तास्मानियामा नेपाली समुदायबीच क्रिकेटको विकास, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलमार्फत समुदायबीच एकता र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। सोही अभियानअन्तर्गत आयोजना गरिँदै आएको नेपाली प्रिमियर लिग (टीएनपीएल) ले तास्मानियामा रहेका नेपाली खेलाडीहरूलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्दै क्रिकेटप्रतिको उत्साह अझ विस्तार गर्ने अपेक्षा गरिएको छ। यसैबीच प्रतियोगिताका सम्पूर्ण खेलहरू एक्सोटिक लेनमार्फत प्रत्यक्ष रूपमा हेर्न सकिने आयोजकले जानकारी दिएका छन्। यसले तास्मानियामा रहेका नेपाली समुदायका साथै अन्य क्रिकेटप्रेमी दर्शकहरूलाई पनि प्रतियोगितासँग प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ।