मेलबर्न, अष्ट्रेलिया ।
दिदीबहिनी ओमन्स नेटवर्क अष्ट्रेलियाको आयोजनामा मेलबर्नमा महिला स्वास्थ्य तथा सशक्तिकरण सम्मेलन २०२६ सम्पन्न भएको छ । मार्च ७ तारिखका दिन मेलबर्नको लाट्रोब युनिभर्सिटीमा भएको कार्यक्रममा विभिन्न अनुसन्धानका प्रतिवेदनहरु प्रस्तुत गर्नुका साथै महिला स्वास्थ्य, मानसिक स्वास्थ्य, नेतृत्व तथा सशक्तिकरण लगायतका विषयमा विभिन्न सत्रहरु सञ्चालन गरिएको थियो ।
अष्ट्रेलियाका विभिन्न राज्यबाट आएका १ सय ७० जनाभन्दा बढी महिलाहरुको उपस्थितिमा गरिएको कार्यक्रममा भिक्टोरियाकी सांसद क्याथलिन म्याथ्यू वार्ड, भिक्टोरियाकालागि नेपाली वाणिज्यदूत निराजन गौली, बहुसांस्कृतिक आयोगकी कमिश्नर सिल्भिया कुम्बे लगायतले हौसला बढाएका थिए ।

मेलबर्नमा नेपाली समूदायका नारीहरुलाई समेटेर सञ्चालित दिदीबहिनी समाज हालै मात्र अष्ट्रेलियाव्यपी सञ्जाल बनाउँदै दिदीबहिनी वुमन्स नेटवर्ट अष्ट्रेलियामा रुपान्तरित भएको हो । संस्थाकी अध्यक्ष रोशनी श्रेष्ठले अतिथिहरुलाई स्वागत गरेकी थिइन् । यस्तै संस्थापक अध्यक्ष डा. जमुना पराजुलीले सम्मेलनको विषयमा सबैलाई जानकारी दिएकी थिइन् ।
सम्मेलनमा निकोला हेनरी र ब्रिकान ईरबासले प्रमुख प्रस्तुति दिएका थिए । उनीहरुले क्रमशः यौनिक हिंसामा कानूनी पाटो, बदलिँदो अष्ट्रेलियामा सशक्तिकरण, स्वास्थ्य र अपनत्वका विषय समेटेका थिए । यसका साथै सम्मेलनमा प्रमुख वक्ता, अनुसन्धानकर्ता, स्वास्थ्यकर्मी, नीति निर्माता, सामुदायिक अगुवा तथा स्वयंसेवकहरू सहभागी भई महिला स्वास्थ्य, मानसिक स्वास्थ्य, नेतृत्व तथा सशक्तिकरणका विषयमा विस्तृत छलफल तथा ज्ञान आदान–प्रदान गरिएको थियो ।

सम्मेलनमा महिलाका क्षेत्रमा क्रियाशील विभिन्न संघ संस्थाले उपलब्ध सेवाहरुको जानकारी समेत गराएका थिए । सम्मेलनमा “Breaking Barriers: Improving Service Access – Lived Experience and Professional Perspectives” शीर्षकमा आयोजित प्यानल छलफल थियो। सहभागीहरूले महिलाको स्वास्थ्य र सुरक्षासम्बन्धी सेवामा पहुँच बढाउन समावेशी प्रणाली र सामुदायिक सहयोगको आवश्यकता रहेकोमा जोड दिएका थिए।
सम्मेलनको दोश्रो चरणमा मानसिक स्वास्थ्य र पारिवारिक हिंसा, स्वास्थ्य सेवामा पहुँचका चुनौतीहरु, डिजिटल स्वास्थ्य र नेतृत्व विकास लगायतका विषयमा युनिभर्सिटी अफ मेलबर्न, मुर्डोक चिल्ड्रेन्स रिसर्च ईन्ष्टिच्युट, हेडस्पेस तथा मल्टिकल्चरल सेन्टर फर वुमन्स हेल्थ लगायतका संस्थाका विज्ञ तथा समूदायका प्रतिनिधिहरुले आफ्नो अनुभव र अनुसन्धान प्रस्तुत गरेका थिए ।
सम्मेलनको निष्कर्श प्रस्तुत गर्दै नेपाली समूदायका अगुवा डा. राजु अधिकारीले यस किसिमको सम्मेलनले एउटा निश्चित लक्ष्य तोकेर त्यस अनुसार काम गर्दै जानुपर्नेमा जोड दिएका थिए ।


प्रतिक्रिया