काँग्रेसका सभापति गगन थापाको हार, अमरेस सिंहलाई दिए बधाई !

काँग्रेसका सभापति गगन थापाको हार, अमरेस सिंहलाई दिए बधाई !



सर्लाही । नेपाली काँग्रेसका सभापति गगन थापाले पनि चुनाव हारेका छन् । उनले अमरेस कुमार सिंहसँग भारी मतान्तरका साथ चुनाव हारे । अमरेस कुमार सिंहले ३५ हजार ६ सय ८८ मत ल्याउँदा उनले २२ हजार ८ सय ३१ मत ल्याएका छन् । नेपाली काँग्रेसले नै टिकट नदिएपछि स्वतन्त्र बनेका अमरेस सिंहले पार्टीको सभापतिलाई नै पराजित गरेका छन् । चुनाव अघि अमरेसले रास्वपाले १ सय ६० सिट ल्याउने र आफुले पनि चुनाव जित्ने भविष्यवाणी गरेका थिए । उनले चुनाव नजितेमा आफुले आत्मदाह गर्ने बताएका थिए भने उनले बालेनले चुनाव नजिते पनि जनकपुरमा आत्मदाह गर्ने भन्दै मतदातालाई आकर्षित गर्ने रणनीति लिएका थिए ।

काठमाडौं ४ मा लगातार तीन पटक विजयी भएका गगन मधेशको मन मिलाउने भन्दै त्यता लागेका थिए । अहिले नेपाली काँग्रेस वृत्तमा उनले अहिलेको चुनावको जिम्मेवारी लिएर राजीनामा गर्नुपर्ने माग उठ्न थालेको छ । मुख्यतः देउवा पक्षधर नेताहरुले यस्तो प्रश्न उठाउन थालेका छन् । अर्कोतर्फ गगन समर्थकहरुले भने देउवाको नेतृत्वमा गएको भए शून्य सिट आउँथ्यो अहिले जति आयो त्यो धेरै हो भन्ने जवाफ दिन थालेका छन् । सामाजिक सञ्जालमा यस्तो जुहारी चलिरहँदा गगनले भने सर्लाहीका जनताले भनेका समस्याहरुको समाधानका लागि आफु लागिरहने बताएका छन् ।

‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना,’ सभापति थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

सभापति थापाले आफूलाई मत दिएका सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

सभापति थापाले सर्लाही–४ मा देखेका समस्या समाधानका लागि आफ्नो तर्फबाट पहलका लागि निरन्तरता दिने पनि बताएका छन् ।

‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु,’ उनले लेखेका छन् ।