पूर्वप्रधानमन्त्री ओलीलाई हराउँदै भावी प्रधानमन्त्री घोषित बालेन झापामा विजयी

पूर्वप्रधानमन्त्री ओलीलाई हराउँदै भावी प्रधानमन्त्री घोषित बालेन झापामा विजयी



काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको चर्चाको केन्द्रमा रहेको झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र साह ठूलो मतान्तरसहित विजयी भएका छन् । रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा मैदानमा उतारेको बालेनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गरेका हुन् ।

ओलीलाई उनले ४९ हजार ६१४ मतले पराजित गरेका हुन् । निर्वाचन आयोगका अनुसार शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए । ओली ०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले पराजित गर्दै विजयी भएका थिए । त्यतिबेला ओलीले ५२ हजार ३ सय १९ मत पाउँदा अधिकारीले २३ हजार ७ सय ४३ मत मात्रै ल्याएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीको पराजियसँगै प्रतिनिधिसभा निर्वाचनमा एमालेको केन्द्रीय नेतृत्वका पदाधिकारीहरुले पराजय भोगेका छन् ।

उपाध्यक्ष विष्णु पौडेल,पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल, सचिव महेश बस्नेत, भानुभक्त ढकाल, राजन भट्टराई पराजित यसअघि नै पराजित भइसकेका थिए ।

२०७९ को निर्वाचनमा ७८ सिट सहित दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेका लागि यो हार अनेपेक्षित मात्र छैन, पार्टी नेतृत्व, नीति र कार्यक्रमप्रति पनि गम्भीर प्रश्न उठेको छ ।