काठमाडौं ।
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा ६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको जनाएको छ ।
निर्वाचन आयोगले बिहीबार साँझ गरेको पत्रकार सम्मेलनमा कर्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सर्वदलीय सहमति हुनेवित्तिकै मतगणना सुरु गरिहाल्ने पनि जानकारी गराए । छिटपुट घटना भएपनि चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । यतिबेला देशैभरबाट सरकारलाई, निर्वाचन आयोगलाई समयमै चुनाव सम्पन्न गर्न सकेकोमा बधाईको ओइरो छ ।

निर्वाचनमा मतदान सकिएसँगै मतपेटिका सङ्कलन कार्य सुरु भएको छ । जसमध्ये ६ जिल्लाको मतपेटिका भने शुक्रबार बिहान मात्रै मतगणनास्थलमा पुग्ने भएको छ ।
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लाको मतपत्र शुक्रबार मात्र मतगणनास्थलमा पुग्ने जानकारी दिएका हुन् ।
उनका अनुसार दुर्गम १५ जिल्लामध्ये ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुममा आजै मतपेटिका ढुवानी हुने छन् । १५ वटा जिल्लाको विभिन्न स्थानमा हेलिकोप्टरमार्फत मतपेटिका ढुवानी गर्ने आयोगले जनाएको छ । मतदान प्रतिशत बढ्न सक्ने निर्वाचन आयोगको भनाइ छ।
आयोगले मताधिकारबाट प्रतिनिधि चुन्ने र शासन सत्ता सञ्चालनको प्रक्रियालाई पूर्णता दिने अभियानमा सहभागी र सहयोगी सबैलाई धन्यवाद दिएको छ। कतिपय स्थलमा मतदाताले मतदानमा सहभागी हुन अस्वीकार गरेको सन्दर्भमा कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सरकार वा जनप्रतिनिधिले गरेका प्रतिबद्धता पूरा नहुँदा कतिपय स्थानमा मतदाताले मत नदिएको हुनसक्ने भएकाले ती मतदाताले संविधान, प्रणाली र आयोगप्रति भने असन्तुष्टि नभएको बताए।

प्रतिक्रिया