होबार्ट, तास्मानिया। नेपाली सोसाइटी अफ तास्मानिया र नौरिश नेसन फाउन्डेसन सँगको सहकार्यमा अन्तर्राष्ट्रिय महिला दिवस २०२६ को विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। “फिटनेस र खेलकुदमा महिलाहरू” भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रम यही मार्च ६ तारिख साँझ पाँच बजेदेखि आठ बजेसम्म होबार्टको एमकट हल, मूनाहमा सम्पन्न हुने जानकारी आयोजकले दिएका छन्।
नेपाली सोसाइटी अफ तास्मानियाकी अध्यक्ष रोजिना ताम्राकारका अनुसार कार्यक्रमको मुख्य आकर्षणका रूपमा फिटनेस तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका महिलाहरूले आफ्ना अनुभव र जीवनयात्राबारे जानकारी दिनेछन्। उनीहरूले आफ्नो वास्तविक जीवनयात्रामार्फत महिलाले कसरी शारीरिक तथा मानसिक रूपमा सशक्त बन्न सक्छन् भन्ने सन्देश दिने अपेक्षा गरिएको छ। साथै नौरिश नेसन फाउन्डेसनको विशेष सत्रमार्फत व्यवहारिक पोषण, सांस्कृतिक रूपमा समावेशी स्वास्थ्य शिक्षा तथा दैनिक जीवनमा अपनाउन सकिने सन्तुलित जीवनशैलीबारे जानकारी प्रदान गरिनेछ।


तस्मानियामा लोकप्रिय खेलका रूपमा परिचित हक्कीसम्बन्धी अवसरबारे जानकारी दिन स्थानीय ओएचए हक्की क्लब पनि कार्यक्रममा सहभागी हुनेछन्। सबै उमेर समूहका महिला तथा किशोरीहरूलाई खेलकुदमा जोडिन प्रेरित गर्ने उद्देश्यले विशेष प्रस्तुति, रमाइला गतिविधि तथा आकर्षक उपहारको व्यवस्था गरिएको छ।
आयोजकका अनुसार कार्यक्रम केवल औपचारिक समारोह मात्र नभई सहभागितामूलक र आत्मीय जमघटका रूपमा रहनेछ। कार्यक्रममा सामुदायिक संवाद, अनुभव आदानप्रदान, रमाइला खेल, तस्बिर खिच्ने अवसर तथा नि:शुल्क खानपानको व्यवस्था समेत गरिनेछ। यस कार्यक्रमले समुदायमा महिला सशक्तीकरण, स्वास्थ्यप्रतिको सचेतना तथा आपसी सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
सोसाइटीका सचिव मनीष प्रसाईका अनुसार, “यो कार्यक्रम महिलाको क्षमता र योगदानलाई सम्मान गर्ने मात्र नभएर नयाँ पुस्तालाई खेलकुद र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने साझा प्रयास भएको” केबिसी खबरलाई बताएका छन्।
हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ।

प्रतिक्रिया