मेलबर्न, अष्ट्रेलिया । विश्वप्रख्यात नेपाली खाना ममको फेष्टिभल मेलबर्नमा आगामी अप्रिल ११ र १२ तारिख हुँदैछ । हिमालयन डम्प्लिङ फेष्टिभल नामाकरण गरिएको मम फेष्टिभलको यो चौथो संस्करण हो ।
४० भन्दा बढी खानाका स्टलसहित दुई दिनसम्म चल्ने मम फेष्टिभलमा नेपालका सुपरस्टार गायक दिपक बज्राचार्य र उनको रिदम व्याण्ड प्रमुख आकर्षण हुनेछ । नेपालको मौलिक संगीतलाई पश्चिमी शैलीमा फ्यूजन गरेर विश्वमञ्चमा पस्कदै आएका दिपक बज्राचार्यको कन्सर्टमा लाखे समेत सहभागी हुने गर्दछ ।
मम फेष्टिभलका संयोजक राजु शाक्यले दिपक बज्राचार्यसँगै स्थानीय व्याण्डहरु र कलाकारको समेत प्रस्तुति रहने जानकारी दिए । निःशुल्क प्रवेशको व्यवस्था भएपनि फेष्टिभलमा सहभागी हुन नाम पूर्वदर्ता अनिवार्य गरिएको छ । (Click here to register >)
बालबालिकाहरुको लागि विविध गतिविधि समेत समावेश गरिएका कारण सप्ताहन्तमा परिवारसँग समय विताउन चाहने अष्ट्रेलियनसहित सबै समूदायका लागि मम फेष्टिभल आकर्षक गन्तव्य बन्ने आशा उनले व्यक्त गरे । यस्तै मम फेष्टिभलमा मम प्रतिस्पर्धा, कार्निभल राईड लगायतले पनि रौनक थप्नेछ । मेलबर्नको फुटस्क्रे पार्कमा मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म फेष्टिभल चल्नेछ । मेलबर्नमा मम फेष्टिभल यसअघि सन् २०१७, २०१८ र २०१९ मा आयोजना गरिएको थियो ।


प्रतिक्रिया