काठमाडौं ।
ईरानमा अमेरिकासहित ईजरेलले बम आक्रमण गरेपछि अहिले स्थिति तनावपूर्ण बनेको छ । यसको जवाफमा ईरानले पनि अमेरिकी सुरक्षा बेसहरुमा जवाफी प्रहार गरेका खबरहरु आइरहेका छन् । पूर्ण विवरण नआएपनि सञ्चार माध्यमहरुले भग्नावशेषका तस्वीरहरु सार्वजनिक गरेका छन् । अमेरिकाले आफ्नो युद्धपोतलाई ईरानी समुद्री छेउमा पठाएसँगै बढेको तनाव अन्ततः युद्धको रुपमा परिणत भएको छ । अमेरिकाले कुनैपनि हालतमा ईरानमा आणविक हतियार बनाउन नदिने नीति अन्तर्गत वार्ता आह्वान गरेको थियो । आणविक हतियार बनाउँदै गरेको आरोप लगाउँदै केही समय अघि उसले बी २ बम बर्षक विमानबाट मध्यरातमा आक्रमण गर्दै आणविक भट्टीहरु नष्ट गरिदिएको बताएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले सैन्य कारवाही सुरु गरेको जनाएका छन् । उनले ईरानी जनतालाई सम्बोधन गर्दै आक्रमणपछि त्यहाँको वर्तमान शासकलाई हटाउने र आम जनताले स्वतन्त्रताका साथ सत्ता चलाउन तयार रहन पनि आह्वान गरेका छन् ।
यसैबीच, मध्यपूर्वमा कार्यरत लाखौं नेपाली कामदारको सुरक्षाबारे नेपालमा चिन्ता बढेको छ। विशेषगरी इजरायल र खाडी मुलुकहरूमा कार्यरत नेपालीहरू जोखिममा पर्न सक्ने भन्दै परिवारजन र सरोकारवाला निकायहरूले सरकारसँग चासो व्यक्त गरेका छन्।
नेपाल सरकार परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले जारी गरेको सूचनामा अत्यावश्यक बाहेक बाहिर ननिस्कन, सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
सरकारले सम्बन्धित देशस्थित नेपाली दूतावासमार्फत त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी संकलन गरिरहेको जनाएको छ। आवश्यक परे उद्धार तथा आपतकालीन सहयोगका लागि तयारी अवस्थामा रहेको मन्त्रालयले स्पष्ट पारेको छ।
विभिन्न राजनीतिक दलका नेताहरूले पनि विदेशमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका नेता बालेन साह, काँग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्व क्षेत्रमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले स्थिति बिग्रिए असर गम्भीर हुन सक्ने भएकोले सरकारले उद्धारका लागि विशेष योजना बनाउनुपर्ने माग गरेका छन् ।
यसैबीच, एनआरएनले पनि मध्यपूर्वमा रहेका आफ्ना राष्ट्रिय समन्वय परिषद् मार्फत प्रभावित देशहरुमा रहेका नेपालीको सुरक्षामा चासो व्यक्त गर्दै उद्धार गर्नुपरेको अवस्थामा सहकार्य गरेर अघि बढ्ने जानकारी गराएको छ ।


प्रतिक्रिया