बालेन्द्र र रविको मोदीलाई चिठ्ठी नक्कली : रास्वपा

बालेन्द्र र रविको मोदीलाई चिठ्ठी नक्कली : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भारतलाई पत्राचार नगरेको जनाउँदै गलत समाचार लेखेर भ्रम फैलाएको जनाएको छ।

शुक्रबार केही समाचार माध्यमले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको भन्दै समाचार लेखेका थिए। रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालले प्रेस विज्ञप्ति जारी गरी त्यसको खण्डन गरेका हुन्।

त्यस्ता समाचारप्रति ध्यानाकर्षण भएको रास्वपाले जनाएको छ। रास्वपाले भनेको छ, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन साहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

भारतीय प्रधानमन्त्री मोदीलाई पठाएको भनिएका पत्रलाई रास्वपाले नक्कली भनेको छ। ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, कीर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौँ,’ रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो।’

निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको रास्वपाको जिकिर छ। ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने उद्देश्यले यस्ता प्रायोजित प्रचारबाजी गरिएको स्पष्ट देखिन्छ,’ रास्वपाले भनेको छ।

रास्वपाले यस्ता विषयमा संवेदनशील हुन पनि सञ्चारकर्मीलाई आग्रह गरेको छ। ‘अतः हामी सम्पूर्ण सञ्चारकर्मी, पत्रकार मित्रहरू तथा सञ्चार गृहहरूलाई यस्ता संवेदनशील र राष्ट्रिय महत्त्वका विषयमा समाचार सम्प्रेषण गर्नुअघि तथ्यको गम्भीर जाँचबुझ गर्न र जिम्मेवार बन्न हार्दिक अनुरोध गर्दछौँ,’ रास्वपाले भनेको छ, ‘द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौँ।’

यसलाई लिएर भ्रममा नपर्न पनि रास्वपाले आम नागरिकलाई अपिल गरेको छ। यसमा कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ।

‘आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन सबैमा अपिल गर्दछौँ,’ रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख खनालले भनेका छन्, ‘यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ। सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो।’