निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दुई उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गर्ने निर्णय गरेको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले आचारसंहिता उल्लंघन गरेको ठहर गरेका छ। दुवै उम्मेदवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो।
त्यस्तै, श्रम संस्कृति पार्टीलाई पनि आचारसंहिता उल्लंघनमा कारबाही गर्ने निर्णय गरेको छ। श्रम संस्कृतिलाई २५ हजार रुपैयाँ जरिवाना तोकेको छ।
केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहेका निर्वाचन आयुक्त सगुन समशेर जबराले दुई जना प्रतिनिधि सभा सदस्य उम्मेदवार र एक राजनीतिक दललाई कारबाही गरिएको जानकारी दिए। आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टिकरण चित्तबुझ्दो नभएपछि आयोगले कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएको उनले बताए।
यस्तै, केन्द्रीय निर्वाचन आयोगबाट ८२ जनालाई स्पष्टिकरण सोधिएको छ। ६ जनाको स्पष्टिकरण चित्त नबुझेको कारण फेरि सोधिएको छ। ५७ जनाबाट जवाफ प्राप्त भएको उनले बताए।
आयोगमा मुलुकभर तीन सयभन्दा बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन्। निर्वाचन आचारसंहिताविपरित एउटा संस्थानबाट निकालिएका दुई जना कर्मचारीलाई पुनःवहाली गर्न समेत आयोगले निर्देशन दिएको छ।

प्रतिक्रिया