काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताका लागि तीन दिन बिदा सिफारिस गरेको छ ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार फागुन २०, २१ र २२ गते गरी तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको हो ।
गोरखापत्र संस्थानले आयोजना गरेको निर्वाचन अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सहसचिव भट्टराईले भन्नुभयो, ‘आयोगले यस पटक निर्वाचनमा उत्साहजनक सहभागिता बढाउन मतदानको अघिल्लो दिन, मतदानको दिन र भोलिपल्ट समेत गरी तीन दिन सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरेको छ ।’
फागुन १८ गते सोमबार पहाडी जिल्ला र फागुन १९ गते मङ्गलबार तराईका जिल्लामा फागु पूर्णिमा अर्थात् होली पर्वको सार्वजनिक बिदा परेको छ । तीन दिन सार्वजनिक बिदा दिँदा विभिन्न पेसा र व्यवसायमा मतदाता नामावली भएको स्थानबाट टाढा रहेका मतदातालाई मतदान स्थलसम्म जान सहज हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया