निषेधित क्षेत्र तोकिएको ठाउँमा पूर्वराजाका समर्थकहरुको जमघट र नाराबाजी

निषेधित क्षेत्र तोकिएको ठाउँमा पूर्वराजाका समर्थकहरुको जमघट र नाराबाजी



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै काठमाडौं फर्किएका छन् । झापामा रहेका पूर्वराजा काठमाडौं आउँदा राप्रपा, दुर्गा प्रसाई समूह लगायतले भव्य स्वागत गरेका छन् । स्थानीय प्रशासनले विमानस्थललाई निषेधित क्षेत्र तोक्दै त्यहाँ भीडभाड नगर्न आदेश दिएपनि त्यसलाई बेवास्ता गर्दै समर्थकहरु विमानस्थल बाहिर भेला भएका थिए । प्रदर्शनका कारण विमानस्थलबाट बाहिरिने र काठमाडौं भित्रिने यात्रुले सास्ती पाएका छन् । हेलिकोप्टर मार्फत काठमाडौं आएका पूर्वराजाको योजनामा नै यस किसिमको प्रदर्शन आयोजना गरिएको बुझ्न कठीन छैन । तर, बाहिर देखाउँदा आफु आउँदा समर्थक आए त्यसपछि मात्रै आफुले थाहा पाएकोजस्तो गरी प्रदर्शन गरिएको छ । प्रदर्शनमा पूर्वराजालाई नारायणहिटी गएर गद्दी सम्हाल्नका लागि आह्वान गरिएको थियो, यस्तै किसिमका नाराबाजी गरिएको थियो ।

तीन महिनाको झापा बसाइपछि शुक्रबार काठमाडौँ आएका उनलाई समर्थकहरूले स्वागत गरेका हुन्। उनले ‘सनरूफ’ कारमा उभिएर हात हल्लाउँदै समर्थकहरूलाई धन्यवाद दिएका थिए।

विमानस्थल र मार्गमा सहभागीहरूले फूल र झण्डासहित उत्साहपूर्वक स्वागत गरेका छन्। उनीहरूले ‘नारायणहिटी खालि गर’, ‘गणतन्त्र मुर्दावाद’, ‘राजा आऊ देश बचाऊ’लगायतका नारा पनि लगाएका थिए।

उनलाई समर्थकले र्‍याली निकालेर निर्मल निवाससम्म लैजाने क्रम जारी राखेका छन्। उनलाई स्वागत गर्न दुर्गा प्रसाईं र राप्रपा नेता कमल थापा लगायत समर्थक पुगेका थिए।

पूर्वराजा शाह कैलाश एयरको हेलिकप्टरमा दमकबाट काठमाडौँ आएका हुन्।

ठूलो संख्यामा प्रदर्शनकारीहरू विमानस्थल पुगेपछि प्रशासनले पूर्वराजालाई सोझै निर्मल निवास जान आग्रह गर्ने तयारी पनि गरेको थियो। तर, विमानस्थलको बढ्दो भिडका कारण प्रशासनले उनलाई विमानस्थलमा ओर्लेर स्वागत र अभिनन्दनसहित निर्मल निवास जान अनुमति दिएको हो।