काठमाडौं । पत्रकारबाट राजनीतिकर्मी बनेका ऋषि धमलाले फेरि एक पटक दावीको श्रृंखलामा नयाँ आयाम थपेका छन् । मृत्यु भइसकेका व्यक्तिहरुले आफुलाई निर्देशन दिएको भनेर दावी गर्दा धेरैले पत्याएका थिएनन् । कहिले गिरिजाप्रसाद कोइरालाले २०६२ को आन्दोलनको बेला वार्ता गर्न भारत पठाएको भन्ने त कहिले कृष्णप्रसाद भट्टराईले आफुलाई पत्रकारितामा ल्याएको दावी गर्ने ऋषि धमलाले जेन्जी आन्दोलनलाई आफुले अवतरणमा ल्याएको दावी गर्दै आएका थिए ।
रिपोटर्स क्लबमा एक कार्यक्रम गरेर उनले एक कदम अघि सर्दै जेन्जी आन्दोलनका मुद्दा नै आफ्नो भएको दावी समेत गर्न भ्याएका छन् । ७ घण्टा वार्ता गरेर सुदन गुरुङ लगायतलाई आफुले सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउन सहमति गराएको दावी उनको छ । यस पटक जिउँदो व्यक्तिकै बारेमा दावी गरेपछि अब सुदन गुरुङको प्रतिक्रिया के आउँछ यो हेर्न बाँकी छ ।
राजनीतिमा गएपछि आफुले भर्खरै मात्र रौतहटको बारेमा थाहा पाएको जस्तो गर्दै त्यहाँ विभिन्न चटक देखाउँदै आएका धमला रौतहटबाट बारम्बार जनप्रतिनिधि बनेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका निकट हुन् । उनले माधव नेपाललाई प्रयोग गरेर कैयौं पटक आफ्नो दुनो सोझ्याएका छन् । तर, रौतहटका कसैले पनि अहिलेसम्म त्यहाँ केही गरेन भनेर दावी गर्न थालेका धमला यतिबेला युट्युबरलाई अघि पछि लगाएर कहिले जेरी हाल्दै त कहिले उखु काट्दै गरेको भेट्न सकिन्छ ।
आफ्नी श्रीमतिलाई समानुपातिकबाट सांसद बनाउनका लागि यो सारा खेलोमेलो गरेका धमला आफैं भने निर्वाचन हुन नसक्ने उनलाई थाहा छ । भइहालेमा दुबै हातमा लड्डु नभएमा कम्तिमा श्रीमती सांसद हुने र विभिन्न नेताहरुलाई ब्ल्याकमेल र याचना गरेरै भएपनि मन्त्री बनाइछाड्ने उनको एकसूत्रीय योजना रहेको बुझ्न कुनै साईत हेर्न पर्दैन । तर, पछिल्लो समय अन्टसन्ट बोलेर चर्चामा आउने दुर्गा प्रसाईंले जुन भाउ नेपाली समाजमा पाउँदै गएका छन् त्यसको तुलनामा चाही धमला पहुँच भएकै व्यक्ति हुन् भन्दा अत्युक्ति हुँदैन ।
अब प्रश्न जेन्जीको आन्दोलन, त्यसको माग, त्यसको उठान र बैठानमा यिनको भूमिकाका बारेमा स्वयं सुदन गुरुङले के प्रतिक्रिया दिन्छन यो हेर्न बाँकी छ । उनले होइन भने पनि मैले कहाँ उनीसँग मात्रै भनेको हो त जेन्जीका अरुसँग पनि वार्ता गरेको थिएँ भन्दै यिनले कुरा फेर्न भने कत्ति बेर लाग्दैन ।

प्रतिक्रिया