जापानमा भएको आम चुनावमा प्रधानमन्त्री साने ताकाचीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले भारी विजय हासिल गरेको छ ।
ताकाचीको लिबरल डेमोक्र्याट पार्टी (एलडीपी) नेतृत्वमा रहेको गठबन्धनले जापानको प्रतिनिधि सभामा ४६५ सिटमध्ये ३५२ सिट जितेको छ, जसमा एलडीपीले मात्र ३१६ सिटको बहुमत प्राप्त गरेको बीबीसीले जनाएको छ ।
देशकी पहिलो महिला प्रधानमन्त्रीले पार्टी नेता बनेको चार महिनापछि मात्र चुनाव आह्वान गरेर स्पष्ट सार्वजनिक जनादेश खोजेकी थिइन् । २०२४ मा एलडीपीले संसद्को दुवै सदनमा बहुमत गुमाएको थियो ।
यो पार्टीको अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । यसअघि, १९८६ मा, पार्टीले ३०० सिट जितेको थियो। चुनाव जितेपछि ताकाचीले जापानलाई बलियो र समृद्ध बनाउन आफ्नो नीतिहरू अनुसरण गर्ने बताइन् । जापानमा आइतबार मतदान भएको थियो ।
जापानको तल्लो सदन ९प्रतिनिधि सभा० मा ४६५ सदस्यहरू छन् । माथिल्लो सदनमा दुई तिहाइ बहुमतले सरकारको विजय सुनिश्चित गर्न सक्छ।
निर्वाचनअघि १९८ सिटमा सीमित रहेको एलडीपीको यो नतिजा युद्धपछिको जापानी राजनीतिमा कुनै पनि दलले प्राप्त गरेको सबैभन्दा ठूलो प्रतिनिधित्वमध्ये एक मानिएको छ ।
यो नतिजासँगै एलडीपी नेतृत्वको गठबन्धनले अब माथिल्लो सदन ९अपर हाउस०मा बहुमत नभए पनि महत्वपूर्ण विधेयक र बजेटमाथि देखिन सक्ने अवरोधलाई तल्लो सदनमा दुई तिहाइ मतबाट उल्ट्याउन सक्ने कानुनी क्षमता प्राप्त गरेको छ । साथै, २६१ सिटको सुपरमेजोरिटी नाघेकाले सत्तारूढ गठबन्धनले तल्लो सदनका सबै १७ वटा स्थायी समितिको नेतृत्वसमेत हात पार्नेछ।
विपक्षी गठबन्धनको सिट संख्या १६७ बाट घटेर ४९ मा झरेको छ ।
यसपटकको परिणामले २०१२ को चुनावको सम्झना दिलाएको छ, जब एलडीपीले २९४ सिट जित्दै पुनः सत्ता कब्जा गरेको थियो, जुन विजयले पूर्वप्रधानमन्त्री शिन्जो आबेको करिब आठ वर्षे शासनको आधार तयार गरेको थियो । एलडीपीको अघिल्लो सबैभन्दा राम्रो प्रदर्शन सन् १९८६ मा, यासुहिरो नाकासोनेको नेतृत्वमा, ३०० सिट जित्दा देखिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नै ताकाइचीलाई बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि ऐतिहासिक नतिजाको लागि ताकाइचीलाई बधाई दिएका छन्।
यो जित उनका दुई पूर्ववर्ती प्रधानमन्त्रीहरूको तुलनामा निकै उत्साहजनक मानिएको छ। निर्वाचनको परिणामलाई ताकाइचीको व्यक्तिगत लोकप्रियता र उनको ‘पपुलिस्ट’ कार्यशैलीको परिणामका रूपमा हेरिएको छ।
करिब ७० प्रतिशतको उच्च एप्रुभल रेटिङ कायम राख्न सफल प्रधानमन्त्रीले चुनावअघि आफ्नो पार्टीले बहुमत नल्याएमा राजीनामा दिने घोषणा गरेकी थिइन्। ३६ वर्षपछि पहिलो पटक हिउँदको समयमा भएको यस निर्वाचनमा टोकियो लगायतका क्षेत्रमा भारी हिमपात र यातायात अवरुद्ध भए तापनि मतदाताहरूको उत्साहजनक सहभागिता रह्यो।
विशेष गरी सामाजिक सञ्जालमा सक्रिय ताकाइचीले युवा मतदाताहरूलाई आकर्षित गर्न सफल भएको देखिन्छ। दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङसँग ड्रम बजाएको उनको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल बनेको थियो, जसले उनलाई युवा पुस्तामाझ लोकप्रिय बनाउन मद्दत पुर्याएको बीबीसीको समाचारमा उल्लेख छ ।
आफ्नो चुनावी अभियानका क्रममा ताकाइचीले राष्ट्रिय सुरक्षा, खर्च वृद्धि र कर कटौती जस्ता एजेन्डाहरूलाई प्राथमिकता दिएकी थिइन्।
उनले अध्यागमन प्रणालीमा कडाइ गर्ने र विदेशीहरूको भूमि स्वामित्वमाथि पुनरावलोकन गर्ने जस्ता राष्ट्रवादी नीतिहरू अघि सारेकी छन्।
यद्यपि, आलोचकहरूले भने उनका यस्ता नीतिले समाजमा विभाजन ल्याउन सक्ने र थप ऋणमा रहेको जापानी अर्थतन्त्रलाई जोखिममा पार्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
विशेष गरी चीनसँगको सम्बन्धमा उनले लिएको कडा अडान र ताइवान मामिलामा सैन्य हस्तक्षेपको सम्भावनाबारे दिएको अभिव्यक्तिले भविष्यमा कूटनीतिक चुनौती थप्ने आकलन गरिएको छ। मतदाताहरूले रक्षा बजेट र दैनिक जीवनयापनको लागतबीच सन्तुलन मिलाउनुपर्ने चुनौतीका बावजुद ताकाइचीको नेतृत्वमाथि विश्वास देखाएका छन्।

प्रतिक्रिया