देशलाई सम्हाल्ने शक्ति को आवश्यकता : गगन थापा

देशलाई सम्हाल्ने शक्ति को आवश्यकता : गगन थापा



कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भूमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।

कास्कीमा पार्टीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

अहिले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै थापाले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताए ।

‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई । त्यो कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ ।’

थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए ।

‘नागरिकमा गहिरो रिस छ । राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ । समाजमा एउटा ठूलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ । यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने’, उनको भनाइ छ ।