काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले बाँके(३ का आफ्ना उम्मेदवार खगेन्द्र सुनारको विवादित अभिव्यक्तिलाई लिएर सचेत गराएको छ।
भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न ध्यानाकर्षण पनि गराएको रास्वपाले जनाएको छ।
सुनारले अन्य पशुपन्छीजस्तै गाई वा गोरूको मासु पनि खान पाउनुपर्ने भन्दै एक अन्तर्वार्तामा बोलेको भनाइलाई लिएर सामाजिक सञ्चालमा आलोचना भएपछि रास्वपाले उनलाई सचेत गराएको हो।
यसै विषयमा शुक्रबार रास्वपाले आफ्नो स्पष्टीकरण र प्रतिबद्धता पनि सार्वजनिक गरेको छ।
पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको विज्ञप्तिमा सुनारले रास्वपामा जोडिनुअघि व्यक्त गरेको अभिव्यक्तिलाई लिएर उत्पन्न अन्योल र धार्मिक(सांस्कृतिक भावनामा पुगेको चोटप्रति क्षमायाचना गरिएको छ।
‘उहाँले सार्वजनिक रूपमै आफू साकाहारी भएको, कुनै पनि पशुपन्छी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै दुबिधा नरहेको प्रस्ट पारिसक्नुभएको छ,’ रास्वपाले भनेको छ, ‘सामाजिक सञ्जालमा व्यक्त केही प्रसंगलाई तोडमोड गरी प्रचार समेत गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र ठेस पुगेको भावनाप्रति उहाँले क्षमायाचना गर्दै आत्मलोचना समेत गर्नुभएको छ।’


प्रतिक्रिया