मेलबर्न, अष्ट्रेलिया ।
विश्वचर्चित ग्रान्डस्लाम अष्ट्रेलियन ओपनको अन्डर १४ एलिट एन्ड अन्डरट्रफी प्रतियोगितामा सहभागी नेपाली किशोरी शिवाली गुरुङलाई यहाँको नेपाली समूदायले स्वागत गरेको छ । आईतबार ग्लेनरोयमा रहेको नेपाली वाणिज्यदूतको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा उनलाई सफलताको शुभकामना दिँदै देशको नाम उच्च राख्ने बाटोमा निरन्तर लाग्न पनि सहभागीहरुले सुझाव दिएका थिए । एशियाकै नम्बर ३ मा रहेकी उनको खेल आज बुधबार, बिहीबार र शुक्रबार हुनेछ ।

भविष्यको स्टार खेलाडीको प्रारम्भ नै यस्तै प्रतियोगिताबाट हुने गर्दछ । उनले आफुलाई अब्बल सावित गरिसकेकी छिन् । हामी उनको मेलबर्न बसाईका समयमा सबै तरहले सहयोग गर्न प्रतिबद्ध छौं, आयोजक एभरेष्ट युनाईटेड क्लबका व्यवस्थापक राजन मास्केले भने । कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली वाणिज्यदूत निराजन गौलीले सफल खेलाडीमा हुनुपर्ने गुणहरु शिवालीमा देखिएको चर्चा गरे । उनले आजको समयसम्म आउनुमा परिवारको त्याग र समर्पणको सबैले सम्मान गर्नुपर्ने पनि बताएका थिए । उनले खादा लगाएर शिवाली, उनका अभिभावक र प्रशिक्षकलाई सम्मान गरेका थिए ।



कार्यक्रममा एनआरएन भिक्टोरियाका सहसंयोजक ससेन्द्र गौतमले शिवालीलाई आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले नेपाली समूदाय उनको खेल हेर्न उपस्थित हुने जानकारी समेत दिएका थिए । कार्यक्रममा उपस्थित सञ्चारकर्मी, विभिन्न टेनिस क्लबका पदाधिकारीहरुले उनलाई सफलताको शुभकामना दिए । उक्त अवसरमा बोल्दै शिवाली गुरुङले आफ्नो हालसम्मको यात्राको चर्चा गरेकी थइन् । उनले आफुले अनलाईनमार्फत पढाईलाई निरन्तरता दिँदै हाल मलेसियामा रहेर तालिम लिइरहेको पनि सुनाइन् ।

प्रतिक्रिया