सिड्नी,अष्ट्रेलिया । अष्ट्रेलिया डे, जनवरी २६ को अवसरमा सार्वजनिक गरिएको अष्ट्रेलिया डे २०२६ सम्मान सूची अन्तर्गत न्यू साउथ वेल्सको ललोर पार्क निवासी भरत नेपाललाई नेपाली समुदाय तथा मानसिक स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै अर्डर अफ अष्ट्रेलिया मेडल (ओएएम) प्रदान गरिएको छ।
अष्ट्रेलियाको गभर्नर–जनरलले सार्वजनिक गरेको सम्मान सूची अन्तर्गत समुदाय, सेवा र सार्वजनिक जीवनमा उल्लेखनीय योगदान पुर्याएका ९४९ जना अष्ट्रेलियाली सम्मानित भएका छन्।
भरत नेपाल अष्ट्रेलियन नेपाली पब्लिक लिंक संस्थाका संस्थापक अध्यक्ष हुन्। उनले सन् २०१२ देखि २०१८ सम्म संस्थाको अध्यक्षका रूपमा सेवा दिएका थिए। त्यसपछि सन् २०१९ देखि २०२४ सम्म संस्थामा सल्लाहकारको भूमिकामा सक्रिय रहे। हाल संस्थाको पब्लिक रिलेसन्स अफिसरका रूपमा कार्यरत छन्।

स्वास्थ्य क्षेत्रमा उनले सन् २००३ देखि न्यू साउथ वेल्स स्वास्थ्य विभागमा विभिन्न भूमिकामा सेवा दिँदै आएका छन्। यस अवधिमा उनले स्वास्थ्य शिक्षा अधिकारी, मानसिक स्वास्थ्य प्राथमिक सहायता प्रशिक्षक, परामर्शदाता, अनुसन्धानकर्ता तथा अधिवक्ताका रूपमा योगदान दिएका छन्।
त्यस्तै, सन् २०२४ मा वेस्टर्न सिड्नी विश्वविद्यालयमा आयोजित दक्षिण एशियाली आत्महत्या रोकथाम शिखर सम्मेलनका सह–संयोजकसमेत रहेका नेपाल हाल ‘जस्टिस अफ द पीस’ को भूमिकामा पनि कार्यरत छन्। यसैगरी, प्रभावकारी मानसिक स्वास्थ्य सहयोग प्रदान गर्ने विषयमा विद्यावारिधि (पीएचडी) अध्ययनको अन्तिम चरणमा रहेको जनाइएको छ।
गभर्नर–जनरलले यस वर्ष सम्मानित व्यक्तिहरूले सेवा, समुदाय, दयालुता, जिज्ञासा, दृढता र हेरचाहजस्ता अष्ट्रेलियाली मूल्यहरू प्रतिनिधित्व गरेको उल्लेख गर्दै सम्मानित सबैलाई बधाई व्यक्त गरेका छन्।
उक्त सम्मान सूचीअनुसार अर्डर अफ अष्ट्रेलिया अन्तर्गत सामान्य विधामा ६८० जना, सैनिक विधामा २२ जना, उत्कृष्ट सेवा सम्मान १८७ जना, तथा विशिष्ट र साहसिक सम्मान ६० जना सम्मानित भएका छन्। सम्मान प्राप्त व्यक्तिहरूले आगामी महिनाहरूमा आफ्ना राज्य वा क्षेत्रका सरकारी भवनमा आयोजना हुने विशेष समारोहमा सहभागी भई आफ्नो सम्मान प्राप्त गर्ने जनाइएको छ।

को हुन् भरत नेपाल ?
भरत नेपाल नेपालको पूर्वी चितवनस्थित कुमरोज गाउँमा जन्मिएका हुन्। उनी सन् १९९० को दशकको दोस्रो भागतिर अष्ट्रेलिया आएका थिए। उनले वेस्टर्न सिड्नी विश्वविद्यालयबाट जनस्वास्थ्य विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्।
उनको व्यावसायिक अनुभव करिब दुई दशक लामो रहेको छ। उनले न्यू साउथ वेल्समा जनसंख्या स्वास्थ्य, जनस्वास्थ्य तथा पछिल्ला वर्षहरूमा विशेषगरी मानसिक स्वास्थ्य क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्। उनी मानसिक स्वास्थ्यका अनुसन्धानकर्ता, थेरापिस्ट तथा अधिवक्ताका रूपमा पनि परिचित छन्।
जीवन यात्रामा उनले धेरै नेपाली अन्तर्राष्ट्रिय विद्यार्थी तथा आप्रवासीहरूले भोग्ने संस्कृतिक भिन्नता , कार्यस्थलको भिन्नता, भाषागत कठिनाइ तथा शैक्षिक प्रणालीको फरकपनजस्ता चुनौतीहरू अनुभव गरेको उल्लेख गरेका छन्।
समुदाय सेवातर्फ प्रेरित हुनमा उनका पिताको भूमिका महत्वपूर्ण रहेको बताइएको छ। समुदायका लागि आवाज उठाउने र सहयोग गर्ने बानीले संघर्ष र पीडामा रहेका मानिसलाई साथ दिनुपर्ने सन्देश दिएको र त्यसले समुदाय सेवामा निरन्तर सक्रिय बनाएको उनको भनाइ छ।
भरत नेपालका अनुसार नेपाली समुदायभित्र धेरै व्यक्तिहरू मानसिक स्वास्थ्य चुनौती र आत्महत्यासम्बन्धी सोचबाट पीडित हुने गरेका छन्। तर धेरैलाई सहयोग उपलब्ध रहेको र प्रभावकारी हुने जानकारी नहुँदा समस्या थप जटिल बन्ने गरेको उल्लेख गरिएको छ।
यही आवश्यकतालाई मध्यनजर गर्दै उनले नेपाली समुदायलाई केन्द्रमा राखेर मानसिक स्वास्थ्य प्राथमिक सहायता तालिम तथा आत्महत्या रोकथामसम्बन्धी प्रशिक्षण कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएका छन्। आवश्यकता अनुसार भारतीय समुदाय तथा अन्य बहुसांस्कृतिक समुदायलाई लक्षित गरी पनि यस्ता कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ।
अष्ट्रेलिया डे अवसरमा प्रदान गरिएको यो ओएएम सम्मानले नेपाली समुदायप्रति भरत नेपालको सामाजिक सेवा, स्वास्थ्य तथा मानसिक स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानलाई राष्ट्रिय स्तरमै चिनाएको छ।

प्रतिक्रिया