मेलबर्न, अष्ट्रेलिया ।
नेपालको निर्वाचन यतिबेला अष्ट्रेलियामा मज्जैसँग लागेको छ । चुनावका लागि सद्भावदेखि चन्दा उठाउनेसम्मका क्रियाकलापहरु चलिरहेका छन् भित्रभित्रै । यससँगै अर्को एउटा संयोगले धेरै अष्ट्रेलियावासी नेपालीका लागि चुनाव रोचक बनेको छ । युवाहरुको बाहुल्यता रहेको अष्ट्रेलियाको नेपाली समूदायमा नयाँ पुस्ताका उम्मेद्वारहरुलाई समर्थन गर्नेहरु प्रशस्तै देखिन्छन् । अझ गगन थापाले गरेको विद्रोहलाई सहयोग गर्नेहरु पनि प्रशस्तै छन् अष्ट्रेलियामा ।
अष्ट्रेलियाका लागि दुई पूर्व नेपाली राजदूतहरु यतिबेला चुनावको मैदानमा छन् भन्दा त्यसले ल्याउने तरंग फरक किसिमको छ । यस पटक नेकपा एमालेको तर्फबाट समानुपातिक सूचिको अग्रस्थानमा परेकी छिन् पूर्वराजदूत लक्की शेर्पा । शेर्पा आफ्नो कार्यकाल नसकिँदै सरकारले फिर्ता बोलाएकी राजदूत हुन् भने चुनावमा उठेका अर्का राजदूत महेश दाहाल पनि कार्यकाल सकाउन नपाई स्वदेश फर्कने राजदूत नै हुन् । महेश दाहाल र लक्की शेर्पा दुबैजनालाई तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले आफ्नो कोटामा अष्ट्रेलियाको राजदूत बनाएर पठाएका थिए । यद्यपि शेर्पा नेपालमा फर्किएपछि भने नेकपा एमालेतिर लागिन् । उनी नेकपा एमालेबाटै नेकपा माओवादीमा गएकी थिइन् ।
अर्कोतर्फ महेश दाहाल नेपाली काँग्रेस समर्थक हुन् । तर, माओवादीको कोटाबाट राजदूत बनेपछि भने उनी फर्किएर यतिबेला मधेशवादी दलहरुको एकताबद्ध मोर्चाको तर्फबाट उम्मेद्वार बनेका छन् । उनी सर्लाही क्षेत्र नम्बर ३ मा उम्मेद्वार भएका हुन् । जसपा, राउपा र नउपाका संयुक्त उम्मेद्वारका रुपमा उनले दावेदारी प्रस्तुत गरेका हुन् ।
महेश दाहाल अष्ट्रेलियामा रहँदा कोभिडको अवस्थामा नेपाली विद्यार्थीहरुलाई निकै नै सहयोग गरेको राजदूत हुन् । उनी सबै पक्षलाई समन्वय गर्नसक्ने र विदेशीहरुमाझ पनि उच्चतहको सम्वादमा सहभागी हुनसक्ने छविका साथ काम गरेका राजदूत हुन् । नेपालमा राजनीतिक गठबन्धनको मारमा परेर उनी फिर्ता हुनुपरेको थियो । वाक कलामा निपुर्ण उनी जेसिजका राष्ट्रिय अध्यक्ष भइसकेका व्यक्ति हुन् भने व्यक्तित्वविकास र पत्रकारिता सम्बन्धी तालिम पनि सञ्चालन गर्दछन् । उनी नेपाल टेलिभिजनको अध्यक्ष समेत भइसकेका छन् ।


प्रतिक्रिया