तास्मानियामा पहिलो पटक सोनाम ल्होछार, ‘घोडा वर्ष’ (ता’ ल्हो) विशेष कार्यक्रम हुँदै

तास्मानियामा पहिलो पटक सोनाम ल्होछार, ‘घोडा वर्ष’ (ता’ ल्हो) विशेष कार्यक्रम हुँदै


होबार्ट,तास्मानिया।तामाङ समुदायको नयाँ वर्ष पर्व सोनाम ल्होछारको पावन अवसरमा तामाङ सोसाइटी अफ तास्मानिया ले यस वर्ष तास्मानियामै पहिलो पटक ल्होछार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम २०२६ जनवरी २४, शनिबारका दिन हबर्टस्थित द चोक नेपाली पब मा आयोजना हुने आयोजकले जानकारी दिएको छ।

सोनाम ल्होछार तामाङ समुदायको पहिचान, संस्कार, संस्कृति र एकताको प्रतीक पर्व हो। ल्हो भन्नाले वर्ष/सम्वत् र ‘छार’ भन्नाले नयाँ भन्ने अर्थ लाग्दछ। त्यसैले ‘ल्होछार’ को अर्थ नयाँ वर्ष भन्ने हुन्छ। तामाङ समुदायमा १२ वटा ल्हो हुने परम्परा छ, जसमा मुसा, गाई, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर लगायत विभिन्न पशुपन्छीका नामबाट वर्ष गणना गरिन्छ।

यस वर्ष मञ्जुश्री संवत २८६२औँ ल्होछार ‘घोडा वर्ष’ (ता’ ल्हो) का रूपमा मनाइँदैछ। चन्द्रमासअनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइने परम्परा रहेको छ।

परम्पराअनुसार तामाङ समुदायले ल्होछारको अघिल्लो साँझ दीप प्रज्वलन गरी नयाँ वर्षको स्वागत गर्ने, ल्होछारकै दिन बिहान स्नान गरी घर सफा गर्ने, पूजाआजा गर्ने तथा मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने चलन रहँदै आएको छ। छोरी–चेलीलाई बोलाएर टीका लगाइदिने, कूलपूजा गर्ने तथा प्रकृतिको पूजा गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

आयोजक समितिका अनुसार यो कार्यक्रम तामाङ समुदायको मौलिक भाषा, भेषभूषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्दै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा सांस्कृतिक प्रस्तुतिसँगै संगीत, नृत्य, मनोरञ्जनात्मक खेलहरू, स्वादिष्ट खानपान लगायतका विविध आकर्षणहरू पनि समावेश गरिने बताइएको छ।

कार्यक्रम संयोजक विजय तामाङ ले विदेशी भूमिमा बस्दा मौलिक संस्कृति जोगाइराख्नु चुनौतीपूर्ण हुने भन्दै सोनाम ल्होछारजस्ता पर्वले समुदायलाई आफ्नो पहिचान र संस्कृतिसँग जोडेर राख्ने बताएका छन्। उनले तास्मानियामा बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित सहभागी भई उत्सवलाई थप भव्य बनाउन हार्दिक निमन्त्रणा गरेका छन्।

कार्यक्रमको सुरुवात दिउँसो ३:०० बजे पूजाआजाबाट हुने र ५:०० बजेपछि सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। यस अवसरमा पूजामा सहभागी हुने सबैलाई समयमै उपस्थित भई कार्यक्रमलाई व्यवस्थित बनाउन सहयोग गर्न आयोजकले विशेष अनुरोध गरेको छ।

नेपालमा तामाङ समुदायसँगै शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायत विभिन्न समुदायले पनि फरक–फरक समयमा ल्होछार मनाउने परम्परा राख्दै आएका छन्। तामाङ सोसाइटी अफ तास्मानियाले हबर्ट तथा आसपासका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई नयाँ वर्षको शुभकामना आदान–प्रदान गर्दै सांस्कृतिक उत्सव मनाउन आग्रह गरेको छ।