अस्ट्रेलियामा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइयो

अस्ट्रेलियामा आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइयो


मेलबर्न, अष्ट्रेलिया । अस्ट्रेलियामा आज राष्ट्रिय शोक दिवस मनाइँदैछ । यो क्रममा देशभर विभिन्न श्रद्धाञ्जली तथा स्मरण कार्यक्रम आयोजना गरिएका छन्। यस अवसरमा नागरिकहरूले गत डिसेम्बर १५ तारिखमा भएको आतंकवादी आक्रमणको क्रममा ज्यान गुमाउने १५ जनाको स्मरणमा मौन धारण गर्दै सम्मान प्रकट गरेका छन्।

संघीय तथा राज्य सरकारका कार्यालय, सार्वजनिक संस्थान र सुरक्षा निकायका भवनहरूमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। बिहानको समयमा सरकारी कार्यालय, विद्यालय, कार्यस्थल र सामुदायिक केन्द्रहरूमा एक मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

सिड्नी, मेलबर्न, ब्रिसबेन, पर्थ र एडिलेडलगायत प्रमुख सहरहरूमा सार्वजनिक स्मरण सभा आयोजना गरियो। ती कार्यक्रममा समुदायका अगुवा, धार्मिक प्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो। सहभागीहरूले पुष्प अर्पण, दीप प्रज्वलन तथा प्रार्थनामार्फत सम्मान व्यक्त गरेका छन्।

कुनै स्थानीय तहहरूले औपचारिक कार्यक्रम स्थगित गरेका छन् भने खेलकुद गतिविधिहरू सुरु हुनु अघि मौन धारण गरिएको थियो। रेडियो तथा टेलिभिजन प्रसारकहरूले पनि कार्यक्रम तालिका समायोजन गर्दै दिनभर शोक तथा स्मरणसम्बन्धी सामग्री प्रसारण गरेका छन्।

सामाजिक सञ्जालमार्फत पनि नागरिकहरूले एकता, सहानुभूति र सम्मानका सन्देशहरू साझा गर्दै राष्ट्रिय शोक दिवसलाई स्मरण गरेका छन्।

राष्ट्रिय शोक दिवसले साझा पीडा र सहनशीलताको सम्झना गराउँदै अस्ट्रेलियाली समाजलाई एकताबद्ध हुने अवसर प्रदान गरेको छ।