काठमाडौँ ।
सर्वोच्च अदालतले आसन्न प्रतिनिधि सभा निर्वाचनको निर्वाचन प्रक्रिया रोक्न अस्वीकार गरेको छ । नेपाली कांग्रेसको विवादको टुङ्गो नलाग्दासम्म मनोनयन प्रक्रिया रोक्नसमेत गरिएको माग अदालतले अस्वीकार गरेको हो । अदालतको आदेशसँगै फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रक्रिया कार्यतालिका अनुसार नै अघि बढ्ने भएको छ ।
न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले विवादमा विपक्षीसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश अस्वीकार गरेको हो । अदालतले निवेदनमा उठाइएका संवैधानिक र कानुनी विषयवस्तु अन्तिम सुनुवाइकै क्रममा निरूपण आवश्यक रहेको भन्दै अन्तरिम आदेश अस्वीकार गरेको हो ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाबमोजिम निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई आधिकारिकता दिएपछि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवासमेतका तर्फबाट सर्वोच्चमा रिट दर्ता भएको थियो । आयोगको निर्णय बदर गर्न, उम्मेदवारी मनोनयनको प्रक्रिया स्थगनलगायतका माग रिटमा गरिएको छ ।

प्रतिक्रिया