मैथिलीमा बालेनको पहिलो राजनीतिक भाषण, ‘काम गर्न घन्टीमा भोट !’

मैथिलीमा बालेनको पहिलो राजनीतिक भाषण, ‘काम गर्न घन्टीमा भोट !’


जनकपुरधाम । काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले मधेसको छोरा प्रधानमन्त्री बन्ने सही समय आएको भन्दै घन्टीमा मतदान गर्न आग्रह गरेका छन् । जनकपुरधाममा आयोजना गरेको चुनावी घोषणा सभालाई सम्बोधन गर्दै बालेनले मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले भोट दिन आग्रह गरेका हुन् ।

सम्बोधनका क्रममा उनले मधेसको अधिकार, समाजवादको व्याख्या र आगामी निर्वाचनमा रास्वपलाई मतदान गर्न आह्वान गरे । उनले काठमाडौँमा उखु किसानले आन्दोलन गर्दा सिमित जिम्मेवारीले केहि गर्न नसकिएको दुख पोख्दै काठमाडौँलाई अधिकार माग्ने ठाउँ नभए घुम्ने ठाउँ भएको संज्ञा दिएका थिए ।

प्रदेश सरकारले प्रमुख प्रशासकीय अधिकृत फेर्न नसक्ने र त्यसका लागि काठमाडौँ धाउनुपर्ने अवस्थाको प्रसङ्ग निकाल्दै उनले अधिकारको प्रत्याभूतिका लागि वर्तमान प्रणालीमा रहेका चुनौतीहरूबारे बताए ।

बालेन्द्र शाहले काठमाडौँमा आफूले २० हजारभन्दा बढी विद्यार्थीलाई पढाएको र १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गराइएको कार्यलाई समाजवादको उदाहरणका रूपमा प्रस्तुत गरे ।

उनले मन्दिर र पोखरी संरक्षणका आफ्ना कामहरू पनि उल्लेख गर्दै जनकपुरमा पनि पोखरी संरक्षण आवश्यक रहेको र त्यो काम अब रास्वपाले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आफ्नो पहिलो भाषण भएको र मेयर पदबाट राजीनामा दिएपछि बल्ल फुर्सदमा रहेको बताउँदै उनले आफूलाई काम दिन आग्रह गरे । सभामा उपस्थित जनसमुदायलाई काम गर्न दिने हो भन्दै प्रश्नसमेत गरेका थिए । उनले मिथिलाको पावन भूमिमा आएको बताउँदै पूरै देशमा १० लाख पर्यटक आउँदा जनकपुर एक्लैले त्यो धान्न सक्ने दाबी गरे ।

सम्पूर्ण भाषण मैथिली भाषामा गरेका शाहले अन्त्यमा एक मधेसी छोरो प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।