काठमाडौं ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेनसँगको भेटमा ५ मिनेटमै आफूहरु सँगै हिँड्न सक्छौं भन्ने यकिन भएको बताएका छन् । रास्वपाले जनकपुरमा आयोजना गरेको परिवर्तनका लागि उद्घोष सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने,’जुन दिन बालेन र मेरो भेट भयो । त्यो ५ मिनेटमै सकिएको हो,देशको हित र जनताको चाहनाअनुसार हामी एक ठाउँमा आएका हौ’।
स्वर्गीय आमाको तस्बिरसँग संवाद गर्दै अब देश बालेनले चलाउन सक्ने बताएको लामिछानेले सुनाए । उनले भने ‘मैले आमाको तस्बिरमा हेरेर भनेँ आमा, बालेनले देश बनाउँछ । बालेनले हाम्रो सपना पूरा गर्छ । यसको साक्षी मेरी श्रीमति पनि छिन्’।
लामिछानेले सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसद् जाने पनि उद्घोष गरे ।’हिजो सबैभन्दा धेरै भोट ल्याएको सांसद बनेको थिएँ अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाउँछौं,’ उनले भने, ‘मलाई सम्झना छ, जब चितवनका जनताले सबैभन्दा धेरै भोट दिएर संसद् पठाएका थिए तर छलछाम गरेर निकालियो ।’
सरकारले लगाएको मुद्दाले कुनै दिन आफूलाई जेलसमेत पुर्याउन सक्ने उनको भनाइ थियो । ‘बच्चालाई गोली ठोकेर हेलिकोप्टरमा भागेको सरकारको मुद्दाले त्यो अवस्थामा पुर्याउला तर कुनै चिन्ता छैन, देशले बालेन पाएको छ ।’

प्रतिक्रिया