पोखरामा दुर्गा प्रसाई भन्दै थिए खै कहाँ छ पक्राउ पूर्जी ?

पोखरामा दुर्गा प्रसाई भन्दै थिए खै कहाँ छ पक्राउ पूर्जी ?



पोखरा । निर्वाचन आयोगको विश्वसनीयतामाथि आँच आउने गरी भ्रामक प्रचार गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार पोखरामा पक्राउ परेका छन् । उनलाई पोखरा विमानस्थल नजिकैबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ गर्न पुगेको प्रहरीलाई उनले पक्राउ पूर्जी छ कि छैन भन्दै देखाउन भनेका थिए ।

प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर निर्वाचन नतिजा आफ्नो पक्षमा पारेको भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । प्रसाईं विभिन्न विषयमा अन्टसन्ट बोलेर चर्चामा आइरहन्छन् । त्यसअघि उनले गगन थापा समूहले आधिकारिकता नपाउने र त्यसपछि रास्वपासँग मिल्न जाने बताएका थिए ।

निर्वाचन आयोगले प्रसाईंको अभिव्यक्तिले संवैधानिक निकायको प्रतिष्ठामा गम्भीर आघात पुर्‍याएको ठहर गर्दै कारबाहीका लागि नेपाल प्रहरीको दुईवटा युनिटलाई पत्राचार गरेको थियो । सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको विषयमा डिजिटल फरेन्सिक अनुसन्धानका लागि प्रहरीको साइबर ब्युरो र पक्राउ पुर्जी कार्यान्वयन र थप कानुनी प्रक्रिया अघि बढाउनका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँलाई आयोगले पत्र पठाएको थियो । चुनावलाई सुरक्षा चुनौती दिने पात्रका रुपमा समेत हेरिएका कारण उनको जेल बसाई चुनावसम्मै हुनस्क्ने धेरैले आंकलन गरेका छन् ।