विशेष महाधिवेशनको पत्र हिजै दर्ता, आज पुग्यो कारवाहीको निर्णय

विशेष महाधिवेशनको पत्र हिजै दर्ता, आज पुग्यो कारवाहीको निर्णय


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले मंगलबार नै निर्वाचन आयोगमा विशेष अधिवेशन सञ्चालन भइरहेको र नेतृत्व चयन गरेपछि त्यसको जानकारी गराउनेगरी पत्राचार गरेको खुलेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, विशेष महाधिवेशन पक्षधरहरूले नै ‘हाम्रो महाधिवेशन चलिरहेको छ’ भनेर आयोगमा जानकारी गराएका हुन् ।

‘उहाँहरूले भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेको छ भनेर अरु विवरणसहित जानकारीपत्र पठाउनुभएको रहेछ, विशेष महाधिवेशनबाट कुनै निर्णय भए अद्यावधिक विवरण पठाउनेछौं भनेर जानकारी गराउनुभएको रहेछ ।’ उनले भने ।

विशेष महाधिवेशन पक्षधरले आयोगमा पत्र पठाएको सूचना देउवा पक्षधरले थाहा पाएका थिए । आज केन्द्रीय समितिको बैठकबाट तीन जनालाई पाँच वर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारवाही गरेपछि यही व्यहोराको पत्र लिएर सहमहामन्त्री बद्री पाण्डे निर्वाचन आयोग पुगेको बताइएको छ । दुबै पक्षबाट पत्र आएको निर्वाचन आयोगले पुष्टि गरिसकेको छ । अब निर्णय निर्वाचन आयोगको बैठकबाट हुनेछ । बैठकको निर्णयमा चित्त नबुझे अदालत जाने अधिकार पनि हुनेछ । तर, निर्वाचन नजिक भएकोले दुबै पक्षले सरकार र आयोग समक्ष निर्वाचन वैशाखका लागि सार्ने सम्भावना छ । फागुनमा चुनाव हुन नसकेको अवस्थामा वैशाखमा नै सार्ने सम्भावना हुँदाहुँदै नियमित महाधिवेशन सारेर वैशाखमा लगेको देउवा पक्षले त्यसैलाई आधार बनाएर अर्को एक वर्ष आफ्नो कार्यकाल बढाउने पूर्वयोजना नै बनाएको थियो ।