नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्ष पदका लागि दुई युवाबीच कडा प्रतिस्पर्धा हुने भएको छ। यही २८ पुसमा हुने २०औँ साधारणसभा तथा निर्वाचनमा हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण)र महासचिव दिपकराज भुसालअध्यक्ष पदका उम्मेदवार बनेका हुन्।
यसअघि अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेकी गीता शिवाकोटी पछि हटेपछि अध्यक्ष पदको प्रतिस्पर्धा दुई जनामा सीमित भएको हो। शिवाकोटीले पौडेलको उम्मेदवारीमा प्रस्तावकका रूपमा रहेर आफू उपाध्यक्ष पदको उम्मेदवार बनेकी छन्।
लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय एन्ड्रयु पौडेललाई एक समूहले साझा उम्मेदवारका रूपमा अघि सारेको छ। ‘एन्ड्रयु प्यानल’ अन्तर्गत उपाध्यक्ष पदमा वासुदेव दाहाल, पुष्पराज भट्टराई र गीता शिवाकोटी (गीताञ्जली), महासचिवमा नवराज केसी, सचिवमा एलबी गोले तामाङ र भुपाल केसी उम्मेदवार रहेका छन्। त्यस्तै, कोषाध्यक्षमा साधना पुडासैनी र सह–कोषाध्यक्षमा भीमबहादुर थापा उम्मेदवार बनेका छन्।
अध्यक्ष पदका उम्मेदवार पौडेलले इक्यानलाई थप व्यावसायिक, पारदर्शी र सदस्य–केन्द्रित संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। शैक्षिक परामर्श व्यवसायमा देखिएका नीतिगत चुनौती समाधान, सरकारी निकायसँग प्रभावकारी संवाद तथा सदस्यहरूको हकहित संरक्षणलाई उनले प्रमुख एजेन्डा बनाएका छन्।

पौडेलले आफ्ना एजेन्डालाई ‘एबीसीडीई’ अवधारणामा प्रस्तुत गर्दै “इक्यानको नयाँ व्यवस्था, व्यक्ति भन्दा माथि संस्था” भन्ने नाराका साथ आगामी कार्ययोजना अघि सारेका छन्। उनका प्रमुख एजेन्डामा एड्भोकेसी, एकाउन्टेबिलिटी, व्यवसाय प्रवर्द्धन, ब्रान्डिङ, शाखा विस्तार, स्मार्ट इक्यान, डिप्लोमेसी, डोमिनेन्स र सदस्य सशक्तीकरण समावेश छन्।
उता, दिपकराज भुसाल प्यानलबाट उपाध्यक्षमा विकल्पराज पोखरेल, रत्नराज भट्टराई र मञ्जित ढकाल, महासचिवमा भवनाथ हुमागाईं, सचिवमा आशिक कार्की र सुरज सिलवाल,कोषाध्यक्षमा उमा खड्का, सह–कोषाध्यक्षमा गोविन्द खनाल उम्मेदवार रहेका छन्।। भुसाललाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको समर्थन रहेको छ। भुसालका प्रस्तावक पाण्डे र समर्थक भट्टराई हुन्।

भुसालले निर्वाचनका लागि २६ वटा एजेन्डा अघि सारेका छन्, जसमा इक्यानलाई व्यवस्थित, मर्यादित र संस्थागत रूपमा सुदृढ बनाउने लक्ष्य प्रमुख रूपमा समेटिएको छ। उनका एजेन्डामा सदस्य अधिकार सुनिश्चितता, संस्थागत सुधार, औपचारिक मान्यता, क्षमता अभिवृद्धि तथा दीर्घकालीन कार्यदिशा समावेश छन्। संस्थागत सुधार, नयाँ नेतृत्व र वैकल्पिक कार्यदिशासहित निर्वाचनमा होमिएको बताएका भुसालले इक्यान ट्रेनिङ एकेडेमी स्थापना गर्ने तथा आगामी दुई वर्ष पूर्ण रूपमा संस्थाका लागि समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्
७ सयभन्दा बढी सदस्य संस्था रहेको इक्यानको यसपटकको निर्वाचनलाई अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। दुवै प्यानलले आफ्ना एजेन्डा, नेतृत्व क्षमता र टिमको अनुभवका आधारमा सदस्यहरूको समर्थन जुटाउने प्रयास तीव्र पारेका छन्।

प्रतिक्रिया