ऋचा मेमोरियल कप क्रिकेट प्रतियोगिताको उपाधि चितवन क्लबलाई

ऋचा मेमोरियल कप क्रिकेट प्रतियोगिताको उपाधि चितवन क्लबलाई



मेलबर्न, अष्ट्रेलिया ।

मेलबर्नमा जारी ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा क्रिकेट लिग प्रतियोगिताको उपाधि चितवन क्रिकेट क्लबले जितेको छ । प्रतिस्पर्धात्मक फाईनल खेलमा ब्राईटन भिक्टोरिया क्रिकेट क्लबलाई पराजित गर्दै चितवन उपाधि जित्न सफल भएको हो ।
खेलमा टस जितेर ब्राईटन भिक्टोरिया क्रिकेट क्लबले व्याटिङ रोजेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा उसले १ सय ५३ रनको लक्ष्य विपक्षीलाई दिन सफल भएको थियो । क्लबका लागि सागर खड्काले ७८ रन बनाएका थिए भने रशिम कँडेलले २८ रन बनाउन सफल भएका थिए । उक्त ईनिङमा चितवन क्रिकेट क्लबका दिल पंगेनीले एक विकेट लिन सफल भएका थिए ।

चितवन क्रिकेट क्लब व्याटिङमा उत्रिदा राजेश पुलामी मगरले ६४ रन, अनुप श्रेष्ठले ३० रन लिन सफल भए । यस्तै बलिङतर्फ संकल्प प्रधानले ३ विकेट लिएका थिए । प्रतियोगितापछि आयोजित पुरस्कार वितरण समारोहमा विजेता र उपविजेता टिम, खेलाडी र प्रशिक्षकहरुलाई मेडल, प्रमाणपत्र र ट्रफी हस्तान्तरण गरिएको थियो ।

प्रतियोगितामा प्लेयर अफ दि सिरिज दिन पंगेनी घोषित भए, यस्तै बेष्ट व्याटर पनि उनी नै घोषित भए । प्रतियोगिताको बेष्ट बोलर गुलाम कुदुस खान भए भने बेष्ट विकेट किपर सुप्रिम श्रेष्ठ बन्न सफल भए, बेष्ट फिल्डरको एवार्ड आयुश न्यौपानेले पाए भने ईमर्जिङ प्लेयर रियान विदुर बन्न सफल भए ।

क्रिकेट लिग प्रतियोगितामा १५ वटा क्लबको सहभागिता थियो ।

ऋचा मेमोरियल एक्सपर्ट सगरमाथा लिग क्रिकेट स्व. ऋचा श्रेष्ठको सम्झनामा थालनी गरिएको थियो । उनको सन् २०१९ मा क्यान्सरका कारण निधन भएको थियो । पछिल्लो समय प्रतियोगिता आफ्नो पाचौं संस्करणमा आईपुग्दा समूदायलाई खेलको माध्यमबाट जोड्ने एक महत्वपूर्ण कडीको रुपमा स्थापित भएको छ ।