मेलबर्न, अष्ट्रेलिया । ईश्वी सम्वतको २०२५ लाई बिदाई गर्दै २०२६ को पहिलो दिनमा छौं हामी । गत वर्ष उतार चढावपूर्ण रह्यो । केही देशकाबीचको झण्डै युद्धको त्रासदेखि सिड्नीमा भएको आतंकवादी हमलासम्म । ट्रम्पको उदयपछिको व्यापार युद्ध, युद्धविरामका आशा, जलवायु संकट, प्राकृतिक विपत्ति र आतङ्कवादी घटनाले भरिएको वर्षलाई बिदाइ गर्दै मानिसहरूले विभिन्न ढंगले नयाँ वर्ष मनाएका छन्।
२०२५ इतिहासकै सबैभन्दा तातो वर्षमध्ये एक रह्यो। युरोपमा डढेलो, अफ्रिकामा खडेरी, दक्षिणपूर्वी एसियामा घातक वर्षा र अस्ट्रेलियाको बोंडी बीचमा भएको आतङ्कवादी आक्रमणले विश्वलाई स्तब्ध बनायो। उक्त आक्रमणमा १५ जनाको ज्यान गएको थियो।
जति नै दुःख भए पनि मानिस अघि बढ्न छोड्दैन र खुशी हुने कुनैपनि मौकालाई गुमाउन पनि चाहदैन । यसैकारण यस पटक पनि विश्वभरका शहरहरुमा आतिशबाजीका साथ पूरै आकास उज्यालो बनाइएको छ । शायद यसलाई आशाको संकेत, मानव स्वभावको प्रस्फुटन या निरन्तर अघि बढ्दै गरेको विश्व भन्ने नाम दिन सकिन्छ ।
फ्रान्सको पेरिसस्थित शाँज एलिजे सडक र आर्क डे ट्रायोम्फमा भव्य आतिशबाजी गरिएको थियो। राष्ट्रपति इमानुएल माक्रोंले नयाँ वर्षको सन्देशमा आफ्नो दोस्रो कार्यकालको “अन्तिम क्षणसम्म” काम गर्ने प्रतिबद्धता जनाए। संसदमा बहुमत गुमेपछि उत्पन्न राजनीतिक जटिलताका बाबजुद उनले राजीनामा नदिने स्पष्ट पारे।
दुबईमा विश्वकै अग्लो भवन बुर्ज खलिफामा लेजर र आतिशबाजीको अद्भुत प्रदर्शन हेर्न हजारौँ मानिस नौ घण्टासम्म लाइनमा बसे। करिब १० मिनेटसम्म चलेको आतिशबाजीले आकाश उज्यालो बनायो।
न्युजिल्याण्डको अकल्याण्डमा स्काइ टावरबाट ३,५०० भन्दा बढी आतिशबाजी प्रक्षेपण गर्दै २०२६ लाई स्वागत गरियो। वर्षाका बाबजुद हजारौँ मानिस सहभागी भए, तर खराब मौसमका कारण अन्य स्थानका कार्यक्रम रद्द गरिए।
सुमात्रामा आएको भीषण बाढी र पहिरोमा १,१०० भन्दा बढीको मृत्यु भएपछि इन्डोनेसियामा नयाँ वर्षको उत्सव सीमित गरियो। राजधानी जकार्तामा प्रार्थना र शान्त कार्यक्रम राखियो भने बालीमा आतिशबाजीको सट्टा सांस्कृतिक नृत्य प्रस्तुत गरियो।
चीनले रंगीन सांस्कृतिक कार्यक्रम र ढोल–नगाडासहित २०२६ लाई स्वागत गर्यो। राष्ट्रपति सी जिनपिङले नयाँ वर्षको सन्देशमा प्रविधिमा प्रगति उल्लेख गर्दै ताइवानबारे पुनः दाबी दोहोर्याए।
नोभेम्बरमा भएको भीषण आगलागीमा १६१ जनाको मृत्यु भएपछि हङकङमा यसपटक आतिशबाजी गरिएन। भिक्टोरिया हार्बरमा प्रकाश र सांगीतिक कार्यक्रममार्फत नयाँ वर्ष मनाइयो।
अमेरिकाका विभिन्न शहरमा कडा सुरक्षा व्यवस्थासहित नयाँ वर्षको तयारी गरिएको छ। न्युयोर्कको टाइम्स स्क्वायरमा आतंकवादविरुद्ध अतिरिक्त सुरक्षा अपनाइएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा राष्ट्रिय सुरक्षा बल तैनाथ गरिएको छ।
अस्ट्रेलिया, सिड्नी
सिड्नीमा बोंडी बीच आतङ्कवादी आक्रमणका पीडितको सम्झनामा राति ११ बजे एक मिनेट मौन धारण गरियो। हार्बर ब्रिज सेतो बत्तीले उज्यालो पारियो, त्यसपछि विश्वप्रसिद्ध आतिशबाजीसहित २०२६ लाई स्वागत गरियो। कडा सुरक्षा व्यवस्था गरिएको थियो।
मेलबर्नमा हजारौँ मानिस परिवारसहित उत्सवस्थलमा भेला भए। फ्ल्यागस्टाफ गार्डेन, डकल्यान्ड्स र यारा नदी किनारमा आतिशबाजी हेर्न भीड लागेको थियो।
ब्रिसबेनमा वर्षा र एउटा सानो आतिशबाजी दुर्घटनाका बाबजुद उत्सव सम्पन्न भयो। ड्रोन शोले दर्शकलाई आकर्षित गर्यो। प्रहरीका अनुसार घटनामा कोही घाइते भएनन्।
एडिलेड र पर्थमा पनि हजारौँ मानिस भेला भएर परिवारमैत्री वातावरणमा नयाँ वर्ष मनाए। एल्डर पार्क, समुद्री किनार र सिटी सेन्टरमा आतिशबाजीले आकाश उज्यालो बनायो। यसरी, दुःख, आशा र चुनौतीले भरिएको २०२५ लाई बिदाइ गर्दै विश्वले नयाँ आशा र शान्तिको कामनासहित २०२६ लाई स्वागत गरेको छ।
- न्यूज एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया