रवि लामिछानेको पार्टीभित्र समानुपातिक उम्मेद्वार छनोट गर्न आन्तरिक चुनाव

रवि लामिछानेको पार्टीभित्र समानुपातिक उम्मेद्वार छनोट गर्न आन्तरिक चुनाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आजदेखि आन्तरिक ‘प्राइमरी इलेक्सन’ सुरु गरेको छ । मतदान आज बिहान ७ बजेदेखि भोलि साँझ ७ बजेसम्म गर्न सकिने पार्टीले जनाएको छ ।

प्राइमरी इलेक्सन पार्टीको मोबाइल एपमार्फत हुनेछ । पुस ५ गतेसम्म नेपालभित्र वा बाहिरबाट पार्टी सदस्य बनेकाले मात्र मतदान गर्न पाउनेछन् । निर्वाचन आयोगको नयाँ क्लस्टर डिभिजनअनुसार ११० जनाको बन्दसूची तयार गरिएको छ, जसमा खस आर्य, आदिवासी जनजाति, मधेशी, दलित, थारु र मुस्लिम क्लस्टर समेटिनेछन् । तीमध्ये ५७ जना महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था रहेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
मतदानका क्रममा हरेक क्लस्टरका कम्तीमा १० प्रतिशत उम्मेदवार छान्नुपर्नेछ भने अधिकतम ११० जनासम्म मतदान गर्न सकिनेछ । ओटिपी प्रणालीमार्फत मतदान हुनेछ, जसको वैधता तीन घण्टासम्म रहने रास्वपाले जनाएको छ । यो अभ्यासलाई नेपाली राजनीतिक दलहरूको आन्तरिक लोकतन्त्रमा ग्राउन्डब्रेकिङ कदमका रूपमा लिइएको छ ।

पार्टीका अनुसार गएराति ७ बजेदेखि १० बजेसम्म सम्भावित प्राविधिक समस्या पहिचानका लागि ‘मक इलेक्सन’ पनि गरिएको थियो ।