काठमाडौं । ह्विल चियरको सहारामा मात्र हिँड्न सक्ने मानव तस्करीका नाइके भनिएका हस्त गौतम रहस्यमय तरिकाले कारागारबाट फरार भएपछि अहिलेसम्म भेटिएका छैनन् । मानव बेचिबिखन तथा ओसोरपसार मुद्दामा पुर्पक्षका लागि सुन्धारास्थित केन्द्रीय कारागार जगन्नाथ देवलमा थुनामा रहेका गौतम २४ भदौको जेनजी आन्दोलनको मौकामा फरार भएका थिए ।
ह्विल चियरमार्फत हिँडडुल गर्ने गौतम कारागारबाट फरार हुँदा नै प्रहरीहरू अचम्मित बनेका छन् । त्यसमाथि तीन महिना बित्दासमेत उनको कुनै जानकारी सरकारसँग छैन । मानव तस्करी जस्तो गम्भीर मुद्दाको चार्ज लागेका व्यक्ति, त्यसमाथि ह्विल चियरमार्फत मात्रै हिँडडुल गर्नसक्ने कसरी फरार भए भन्नेसम्म प्रहरीले खुट्याउन सकेको छैन ।
कारागारबाट भाग्ने क्रममा उनलाई कसले सहयोग गर्यो, कसरी बाहिर निस्के भन्ने पनि खुल्न सकेको छैन । जेनजी आन्दोलनको क्रममा सुन्धारा कारागारका धेरैजसो कैदीबन्दी फरार हुँदा उनी पनि फरार भएका थिए ।
त्यसयता खोजी जारी राखे पनि उनी फेला पर्न सकेका छैनन् । ‘गौतमलाई ठूलो अनुन्धानपछि पक्राउ गर्न प्रहरी सफल भएको थियो । जेनजी आन्दोलनको मौकामा फरार भएका उनको खोजी जारी रहे पनि भेट्न सकिएको छैन,’ मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीले भने ।
सुरुमा उनी भागेर भारत पुगेको आशंका गरिए पनि प्रहरीले त्यसबारे यथेष्ट प्रमाण जुटाउन सकेको छैन । पूर्वी रुकुमको सिस्ने गाउँपालिका–३ मा जन्मिएका ५४ वर्षीय गौतम नेपाली मुलका अमेरिकी नागरिक हुन् । अमेरिकी नागरिक भएका हिसाबले उनी जुनसुकै बेला पनि अमेरिका जान सक्ने सम्भावना रहेको प्रहरी अधिकारीहरू बताउँछन् । जसका कारण उनी तेस्रो मुलुकमार्फत अमेरिका पुगिसकेको हुनसक्ने आशंका पनि गरिन्छ ।
अवैध तरिकाले अमेरिका पुगेकाहरूलाई अमेरिकी सरकारले धमाधम डिपोर्ट गर्दा यसरी अवैध तरिकाले अमेरिका पठाउने नाइके गौतम भने रहस्यमय तरिकाले गायब भएका छन् । अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति चुनिएपछि हालसम्म ४४० नेपाली नागरिक डिपोर्ट भइसकेका छन् ।

प्रतिक्रिया