रवि लामिछाने जेलमुक्त हुँदै, शुक्रबार नभए सोमबारसम्म लाग्ने अनुमान

रवि लामिछाने जेलमुक्त हुँदै, शुक्रबार नभए सोमबारसम्म लाग्ने अनुमान


काठमाडौं । उच्च अदालतको बुटवल इजलासले विहीबार रवि लामिछानेलाई बिगो र धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेमा थुनामुक्त गर्न आदेश दिएको छ । आदेशअनुसार बैंक ग्यारेन्टी बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।

जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा हुनुपर्छ । सरकारी कामको प्रकृति अनुसार यी सबै प्रक्रिया पूरा हुन सोमबारसम्म लाग्ने अनुमान गरिएको छ ।

पहिलो, उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । अहिले कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ ।

दोस्रो, आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दामासाहीको रकम र धरौटीको बैंक ग्यारेन्टीको रुजु गर्नेछ । त्यसपछि जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ ।

तेस्रो, चिठी पाएपछि कारागार प्रशासनले रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा बुझाउनेछ । बिहीबारको आदेश अनुसार, त्यहाँ उपस्थित भएर उनले पछि फैसलामा ठहरे बमोजिम बिगो र जरिवाना बुझाउन मञ्जुर छु भन्ने ब्यहोराको कागजमा सही गर्नेछन् ।

त्यसपछिको प्रक्रियाबारे ती अधिकृतले भने, ‘त्यो कागजमा हस्ताक्षर गरेपछि उहाँ तारिख लिएर कारागारबाट बाहिर जानुहुनेछ ।’