चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५ को उपाधि सेन्टजर्ज सिड्नीलाई

चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५ को उपाधि सेन्टजर्ज सिड्नीलाई


नेप्लिज फुटबल क्लब तास्मानिया (एनएफसीटी) ले आयोजना गरेको चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५ तास्मानियाको होबार्टस्थित न्यू टाउनको कोर्नेलियन बे ओभलमा सम्पन्न भएको छ। अस्ट्रेलियाका विभिन्न राज्यबाट आएका १२ वटा नेपाली फुटबल टोलीको सहभागिता रहेको यस प्रतियोगितामा पाँच टोली तास्मानिया बाहिर र सात टोली तास्मानियाबाट सहभागी भएका थिए।

प्रतियोगिताको फाइनल खेल निकै रोमाञ्चक रह्यो। सेन्ट जर्ज नेपाली क्लब, सिड्नीले फाइनलमा लन्सेस्टन नेपाली सकर क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जित्न सफल भयो। विजेता टोली सेन्ट जर्ज नेपाली फुटबल क्लबले ८,००० डलर नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता लन्सेस्टन नेपाली सकर क्लबले ४,००० डलर नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो।

यस प्रतियोगितामा सामाजिक क्लबहरुबीच पनि प्रतिस्पर्धा भएको थियो । जसमा ४ टिमको सहभागिता थियो । सामाजिक विधातर्फ एनएफसीटी सोशल टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो। फाइनल खेलमा एनएफसीटी सोशलले तास्मानिया लेजेन्डरी सोसन टोलीलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो। सामाजिक विधातर्फ निश्चल थापा सर्वाधिक गोलकर्ता बने। उत्कृष्ट गोलकिपरको उपाधि सुजन गुरुङ एनएफसीटी सोशल ले पाए भने सामाजिक विधातर्फको प्रतियोगिताको उत्कृष्ट खेलाडी युगेन सम्बाहाम्फे घोषित भए।

खुला उमेर समूहतर्फ पनि खेलाडीहरूको उत्कृष्ट प्रदर्शन देखियो। सेमिफाइनल खेलमा सुमन लामा र निशाल शाही ठकुरी म्यान अफ द म्याच घोषित भए। फाइनल खेलका म्यान अफ द म्याच अशिम थापा बने। प्रतियोगिताका सर्वाधिक गोलकर्ता बिमल राना मगर घोषित भए। उनी नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् । उत्कृष्ट गोलकिपरको उपाधि निशाल शाही ठकुरी ले पाएभने उत्कृष्ट डिफेन्डर दीपक गुरुङ घोषित भए। उत्कृष्ट मिडफिल्डर सोनाम लामा र टुर्नामेन्टकै उत्कृष्ट खेलाडीको उपाधि सुमन लामाले हात पारे।उनी पनी नेपालको राष्ट्रिय फुटबल टोलीका खेलाडी हुन् ।यस प्रतियोगितामा हरि घोतामे, बुद्ध महर्जन र प्रसन्न गुरुङ म्याच अफिसियलको रूपमा रहेका थिए।

यस वर्षको प्रतियोगितामा किड्स फुटबल सेसन पनि विशेष आकर्षणको रूपमा रह्यो। विभिन्न क्लबहरूसँग सहकार्य गरेर आयोजना गरिएको यस सेसनमा १० भन्दा बढी बालबालिकाहरू सहभागी भएका थिए।

आयोजक क्लबका सचिव सुभाष खतिवडाले केबीसी खबरलाई जानकारी दिँदै प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए। उनका अनुसार यस्ता अन्तरराज्यीय खेलकुद कार्यक्रमले अस्ट्रेलियाभर रहेका नेपाली फुटबल क्लबहरूलाई एउटै ठाउँमा ल्याउने, आपसी चिनजान बढाउने र नेपाली समुदायबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि सांसद एवं विपक्षी दलका नेता जोश विल्लीले होबार्टमा नेपाली समुदाय छिटो–छिटो बढिरहेको मात्र नभई निकै संगठित र व्यवस्थित रूपमा अगाडि आएको बताए । उनले यस्ता खेलकुद कार्यक्रमले समुदायभित्र एकता बढाउनुका साथै स्थानीय व्यापार, घुमफिर र आतिथ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्दै तास्मानिया राज्यको अर्थतन्त्रमा समेत योगदान पुर्‍याइरहेको उल्लेख गरे।

कार्यक्रममा संघीय सांसद एन्ड्र्यू विल्ली, ग्रिन्स पार्टीकी सांसद हेलेन बर्नेट, होबार्टकी लर्ड मेयर अन्ना रेनोल्ड, डेपुटी लर्ड मेयर डा. जेलिन्डा शेडडक तथा बहुसांस्कृतिक समुदायका प्रतिनिधि आइमेन जाफ्री लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा भीएक्सएल एजुकेशन तास्मानिया रहेको थियो। भीएक्सएल एजुकेशन तास्मानियाका निर्देशक विष्णु सापकोटाले आगामी दिनहरूमा पनि नेप्लिज फुटबल क्लब तास्मानियाले अघि ल्याउने सामुदायिक पहलहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै गरेका थिए ।

सन् २०१९ मा स्थापना भएको नेप्लिज फुटबल क्लब तास्मानिया (एनएफसीटी) फुटबल गतिविधिसँगै तास्मानियाली नेपाली समुदायमा सामाजिक, सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको सक्रिय क्लब हो।

फोटो सभार: जितेन फोटोग्राफी