सिड्नी, अष्ट्रेलिया ।
सिड्नीको बोन्डी बिचमा आयोजना गरिएको एक उत्सवमा आक्रमण गर्ने दुईजना आक्रमणकारीमध्ये एकजनाको घरमा प्रहरीले रातभर अनुुसन्धान र खानतलासी गरेको छ । सिड्नीको आक्रमणकारी नविद अक्रमको पहिचान खुलेको र त्यसैका आधारमा निजको घरमा आईतबार अबेर रातिबाट छापा मारेर खानतलासी गरिएको छ ।
ठूलो संख्यामा प्रहरी निजको घर रहेको क्षेत्रमा पुगेको थियो । यसअघि सरकारले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिँदै सुरक्षा परिषद्ले अनुसन्धानलाई मिहिन ढंगले अघि बढाउने निर्णय गरेको थियो ।
यस गोली आक्रमणमा संलग्न भएको अर्को एक व्यक्ति प्रहरीको नियन्त्रणमा उपचार गराइरहेका छन् । दृश्यमा दुबै बन्दुकधारीलाई जमिनमा ढालिएपछि स्थानीय व्यक्तिले पनि आक्रमण गरेको देखिन्छ । यस्तै आक्रमणकारीमध्ये एकजनालाई स्थानीय एक व्यक्तिले बन्दुक खोसेर भगाइदिएको दृश्यलाई धेरैले बहादुरीपूर्ण कार्य भनेर प्रशंसा गरेका छन् ।
सिड्नीको यो हिंसात्मक घटनापछि प्रहरीले ठूलो स्तरको सुरक्षा अपरेसन सञ्चालन गरेको छ।



न्यु साउथ वेल्स प्रहरीले घटनामा संलग्न रहेको आरोपमा एक जना व्यक्तिलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका आरोपी सिड्नी क्षेत्रमै बसोबास गर्ने वयस्क पुरुष हुन्। पक्राउ परेका व्यक्तिको साथमा रहेको फोटो आईडीबाट निज २४ वर्षीय भएको पुष्टि भएको थियो ।
यसअघि विशेष तालिम प्राप्त प्रहरी टोलीले घटनास्थल र आसपासका क्षेत्रमा खोजतलास सञ्चालन गरेको थियो। संदिग्ध सवारी साधन तथा सामग्री जाँच गर्दा सुरक्षाका दृष्टिले संवेदनशील वस्तुहरू फेला परेको प्रहरीले जनाएको छ, जसका कारण अपरेसनलाई अझै विस्तार गरिएको छ।
प्रहरीले घटनासम्बन्धी भिडियो फुटेज, सिसिटिभी र प्रत्यक्षदर्शीका बयान संकलन गरिरहेको छ। सर्वसाधारणसँग पनि घटनासँग सम्बन्धित जानकारी भए प्रहरीलाई सहयोग गर्न अपिल गरिएको छ।

प्रतिक्रिया