बालेनले गृहमन्त्री हटाउन दबाब दिए भन्ने हल्लामा सत्यता छैन

बालेनले गृहमन्त्री हटाउन दबाब दिए भन्ने हल्लामा सत्यता छैन



काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओम प्रकाश अर्याललाई हटाउने निर्णय नहुने जनाएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले कसैको दबाब वा प्रभावमा निर्णय नहुने जनाएको हो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकार क्षेत्रको विषय हो । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन ।’

विज्ञप्तिमा गृहमन्त्री अर्याल असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण गर्ने, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय रहेको श्रेष्ठले जनाएका छन् ।

संवेदनशील परिस्थितिमा अफवाह नफैलाउन र नपत्याउन पनि उनले सम्बन्धित सबै पक्षलाई अनुरोध गरेका छन् ।