तास्मानिया। होबार्टमा आइतबारदेखि तास्मानियन नेपालीज क्रिकेट एसोसिएसन (टीएनसीए) को टी–२० क्रिकेट सिजन औपचारिक रूपमा सुरु भएको छ। शनिबार साँझ चोक – द फर्स्ट नेपाली पबमा आयोजित पत्रकार सम्मेलनमार्फत नयाँ सिजनको घोषणा गरिएको थियो। प्रतियोगिताको उद्घाटन खेल आइतबार बिहान ईडी स्ट्रिट ओवल, ग्लेनोर्कीमा सम्पन्न भयो।

उद्घाटन समारोहमा प्रमुख अतिथि तास्मानियन लेबर पार्टीका नेता जोस विल्ली र ग्लेनोर्की सिटी काउन्सिलका एल्डरम्यान स्टुअर्ट स्लेड ले प्रतीकात्मक रूपमा बलिङ र ब्याटिङ गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए। शनिबार पत्रकार सम्मेलनको सञ्चालन टीएनसीए सचिव पूनम भट्टराई ले गरेकी थिइन्।

सो कार्यक्रममा विभिन्न क्लबका कप्तानहरू पनि उपस्थित भएका थिए। टीएनसीए अध्यक्ष कमल भण्डारी का अनुसार, यस वर्षको प्रतियोगिता विगतका वर्षहरूभन्दा बढी प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। उनका अनुसार नौवटा क्लबको सहभागिताले सिजनलाई विशेष बनाउनेछ। यसपटकको प्रतियोगितामा गोर्खा लेजेन्ड्स क्रिकेट क्लब, काठमाडौं वारियर्स क्रिकेट क्लब, येती क्रिकेट क्लब, लौंसेस्टन नेपाली क्रिकेट क्लब, इन्भिजन क्रिकेट क्लब, क्यापिटल क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, मूनलाइट राइनोस् र एभरेस्ट स्टार्स क्रिकेट क्लब सहभागी छन्।

अध्यक्ष भण्डारीले यस सिजनलाई टीएनसीएले विगतदेखि क्रिकेटको विकासका लागि सञ्चालन गर्दै आएको महत्त्वपूर्ण कार्यक्रमहरूको निरन्तरता भएको बताए। उनले युनिभर्सिटी अफ तास्मानिया क्रिकेट क्लब सँगको सहकार्यले स्थानीय स्तरमा ग्रासरुट क्रिकेट विकासलाई अझ सुदृढ बनाउने कदम भएको पनि बताए।
पत्रकार सम्मेलनमा यस सिजन जुनियर ब्लास्टर र महिला क्रिकेट कार्यक्रम निरन्तर सञ्चालन हुने सचिव भट्टराईले जानकारी दिइन्।
कार्यक्रममा मल्टिकल्चरल सोसाइटी अफ तास्मानिया का पूर्व प्रमुख कार्यकारी अधिकारी लीई लाई टीएनसीए सल्लाहकार बोर्डमा नियुक्त गरिएको घोषणा गरिएको थियो। लीईले टीएनसीएसँग सहकार्य गर्न पाउनु गर्वको कुरा भएको बताउँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। अर्का सल्लाहकार प्रकाश उप्रेती ले टीएनसीएको निरन्तर प्रगति र समुदायमा बढ्दो सहभागिता प्रशंसनीय रहेको बताएका थिए।

कार्यक्रममा टीएनसीए र ग्रेस इन्टरनेसनल तास्मानिया बीच यस सिजनका लागि टाइटल स्पोन्सर को रूपमा सम्झौता (एमओयू) हस्ताक्षर गरिएको थियो। ग्रेस इन्टरनेसनल तास्मानियाको तर्फबाट निर्देशक बिकेन्द्र सापकोटा र राजकिरण अधिकारी उपस्थित थिए। निर्देशक सापकोटाले पाँच वर्षदेखि टीएनसीएसँगको सहकार्य निरन्तर रहनु महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै टीएनसीएलाई निरन्तर साझेदारी र विश्वासका लागि धन्यवाद दिएका थिए।
कार्यक्रममा नेपाली तास्मानियन स्पोर्ट्स एसोसिएसन का अध्यक्ष विष्णु सापकोटा, अस्ट्रेलियन नेपाली जर्नालिष्ट्स एशोसिएशनका कोषाध्यक्ष खगेन्द्र सत्याल, साथै खेलाडी र विभिन्न क्लबका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।
अध्यक्ष भण्डारीले यस सिजनलाई नेपाली समुदायबीच क्रिकेटको विकास र सहकार्यलाई सुदृढ बनाउने निरन्तर प्रयासको हिस्सा भएको बताएका थिए। उनका अनुसार, यो प्रतियोगिताले नेपाली समुदायबीच एकता, मित्रता र खेल भावना प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया