चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५ डिसेम्बर १३ मा हुने

चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५ डिसेम्बर १३ मा हुने


तास्मानिया। नेप्लिज फुटबल क्लब तास्मानिया (एनएफसीटी) ले आयोजना गर्ने “चौथो एनएफसीटी इन्टरस्टेट कप २०२५” आगामी डिसेम्बर १३, शनिबार का दिन न्यू टाउनस्थित कोर्नेलियन बे ओभलमा हुने भएको छ। अस्ट्रेलियाभरका नेपाली कम्तीमा १६ फुटबल टिमबीच प्रतिस्पर्धा हुने यो कप नौ–ए–साइड फुटबल स्वरूपमा खेलिनेछ।

विजेता टिमले आठ हजार डलर नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले चार हजार डलरसहित ट्रफी र मेडल पाउनेछ। साथै उत्कृष्ट खेलाडीहरूलाई पनि विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सर्वश्रेष्ठ खेलाडीलाई तीन सय डलर, सर्वाधिक गोल गर्ने खेलाडी, उत्कृष्ट गोलकिपर, मिडफिल्डर र डिफेन्डरलाई दुई सय–दुई सय डलर, र फाइनल खेलको उत्कृष्ट खेलाडीलाई एक सय डलर र ट्रफी प्रदान गरिनेछ। फेयर प्ले टिम ट्रफी पनि रहनेछ।

आयोजका अनुसार, प्रतियोगिताले अस्ट्रेलियाभर रहेका नेपाली फुटबल क्लबहरूलाई एउटै मञ्चमा ल्याई आपसी मित्रता, सहकार्य र खेलकुदको भावना बलियो बनाउन मद्दत गर्नेछ। फुटबल खेल मात्र नभई यो प्रतियोगिता तास्मानिया घुम्ने, प्रकृति अनुभव गर्ने र यहाँको सुन्दरता अन्वेषण गर्ने उत्कृष्ट अवसर पनि प्रदान गर्नेछ। अस्ट्रेलियाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायका लागि यो प्रतियोगिताले खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुर्‍याउने विश्वास लिइएको छ। प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा भी.एक्स.एल. एजुकेशन एण्ड भिसा सर्भिसेस तास्मानिया रहेको छ ।

प्रतियोगितामा राज्य सरकार र स्थानीय सरकार दुबैको सहयोग रहेको क्लबले जनाएको छ। सन् २०१९ मा स्थापना भएको नेप्लिज फुटबल क्लब तास्मानिया फुटबल गतिविधिसँगै तास्मानियाली नेपाली समुदायमा विभिन्न सामाजिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ।