मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु, १२ घाइते

मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु, १२ घाइते


काठमाडौं, २६ असोज । मुगुमा बस दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट गमगढीका लागि छुटेको बस छायाँनाथ रारा नगरपालिका–७ पिनामा सडकबाट खस्दा २८ जनाको घटनास्थलमै र चार जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिनुभयो । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई नेपाली सेना र समिट एअरको हेलिकप्टरबाट उद्धार गरेर नेपालगञ्जका अस्पतालमा पु¥याइएको पनि प्रमुख जिल्ला अधिकारी महतले बताउनुभयो । सामान्य घाइते भएका एक जनालाई भने उपचारका लागि गमगढी पठाइएको छ ।

मृतकको सनाखतका लागि गमगढी अस्पताल पठाउने तयारी भइरहेको छ । तर मृतकलाई अस्पतालसम्म लैजान समस्या रहेकाले बुधवार बिहानसम्म मात्रै सबैको सनाखत गर्न सक्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

बसमा ४५ जना यात्रु रहेको अनुमान गरिएको महतले जानकारी दिनुभयो । बस भिरबाट निकै तल खसेकाले भिर र रुखमा पनि मृतक र घाइते अड्किएको हुन सक्ने शङ्कामा खोजी भइरहेको छ ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, प्रहरी नायब उपरीक्षक (डीएसपी) चित्रबहादुर भट्टराई सहितको टोली खटिएको छ ।