काठमाडौं । प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीले प्रचण्डको घरबाट २ ट्रक पैसा अन्यत्र सारिएको भन्ने दावीलाई पुष्टि गर्न प्रचण्डको सचिवालयले चुनौती दिएको छ । जेन(जी आन्दोलन सुरु हुनुअघि ‘दुई वटा ट्रकमा दुई करोड रुपैयाँ’ निकालेर अन्यत्र लगिएको भन्दै सुवेदीले आफुलाई यस्तो गोप्य सूचना आएको दावी गरेका थिए । ईमेज च्यानलका लागि विकास थपलियासँग कुरा गर्दै सुवेदीले यस्तो दावी गरेपनि २ वटा ट्रकमा २ करोड लिएर गएको भनेपछि त्यस विषयलाई केही माध्यमहरुमा ट्रोल पनि गरिएको छ । यसरी भएको प्रचारलाई नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ।
सचिवालयले प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचारमा पनि सत्यता नभएको जनाएको छ।
‘हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’ प्रचण्डका स्वकीयसचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ।
जेन–जीले गरेको प्रदर्शनको दोस्रो दिन २४ भदौमा प्रचण्ड र उनका छोरीहरू ९रेणु दाहाल र गंगा दाहाल०को घरमा आगजनी भएको थियो। आन्दोलनपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा लोड गरेर दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका छन्।
त्यसको अनुसन्धान गर्न र कानुनी कारबाही गर्न पनि प्रचण्डको सचिवालयले अनुरोध गरेको छ। ‘डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि सम्बन्धित निकायहरूमा अनुरोध गर्दछौं,’ आचार्यले भनेका छन्।
यसबीचमा सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्या कटौति समेत गरेको छ। सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उलंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ।
प्रतिक्रिया