नेपाली सोसाइटी अफ नर्दन तस्मानियाले दसैं–तिहार विशेष कार्यक्रम गर्दै

नेपाली सोसाइटी अफ नर्दन तस्मानियाले दसैं–तिहार विशेष कार्यक्रम गर्दै


लन्सेस्टन, तस्मानिया । नेपाली सोसाइटी अफ नर्दन तस्मानियाले आउँदो शुक्रबार, अक्टोबर १०, २०२५ मा दसैं–तिहार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। म्याक्स फ्राइ हल, ट्रेभालिनमा बेलुकी ५ बजेदेखि सुरु हुने कार्यक्रममा प्रवेश निःशुल्क हुनेछ।

यसपटकको कार्यक्रममा देउसी भैलो सहितको सांस्कृतिक प्रस्तुति, स्थानीय कलाकारहरूको प्रस्तुति, स्वादिला नेपाली परिकार र राफल ड्र मार्फत उपहारहरू रहनेछन्। साथै, नेपाल आइडल गोल्डेन माइक विजेता बिक्रम बराल को लाइभ प्रस्तुति र डीजे उज्ज्वलको प्रस्तुति पनि रहनेछ।

नेपाली सोसाइटी अफ नर्दन तस्मानिया विगतदेखि नै नेपाली संस्कृति संरक्षण, समुदायलाई एकताबद्ध गर्ने कार्य, खेलकुद तथा सामुदायिक गतिविधि, नयाँ पुस्तालाई आफ्नै संस्कृतिसँग जोड्ने कार्यमा सक्रिय रहँदै आएको छ। यसपटकको दसैं–तिहार विशेष कार्यक्रमलाई पनि सोही निरन्तरताको रूपमा हेरिएको छ।

संस्थाका सचिव निराजन गौतम ले सम्पूर्ण लन्सेस्टनवासी नेपाली भाषी दाजुभाइ दिदीबहिनीलाई परिवारसहित उपस्थित भई दसैं–तिहारलाई एकताको भावना सहित मनाउन आग्रह गरेका छन्।