सिड्नीको गोली काण्ड, ५० राउड फायरपछि एक व्यक्ति समातिए

सिड्नीको गोली काण्ड, ५० राउड फायरपछि एक व्यक्ति समातिए



सिड्नी, अष्ट्रेलिया — सिड्नीको इनर–वेस्ट क्षेत्रमा पर्ने क्रोयडन पार्क उपनगरमा आइतबार राति एक जनाले आफ्नै अपार्टमेन्टबाट लगातार गोली प्रहार गरेपछि ठूलो आतंक फैलिएको छ। करिब दुई घण्टा चलेको गोलीकाण्डमा झण्डै ५० राउन्ड गोली चलाइएको थियो।

यो घटनामा १६ जना घाइते भएका छन्। एक पुरुषको घाँटीमा गोली लागेर अवस्था गम्भीर छ र आकस्मिक शल्यक्रिया गरिएको छ। बाँकी १४ जनालाई सामान्य चोटपटक र मानसिक आघातका कारण अस्पताल र घटनास्थलमै उपचार गरिएको थियो।

पुलिस विशेष ट्याक्टिकल टोलीले अपार्टमेन्ट घेराबन्दी गरी दोहोरो गोलीबारीपछि ६० वर्षे आर्टेमियोस् मिन्तजासलाई पक्राउ गरेको हो। उनलाई सामान्य चोटपटक लागेको छ। प्रहरीले घटनास्थलबाट .३० क्यालिबरको राइफल बरामद गरेको थियो ।

पुलिसका अनुसार यो घटना आतंकवाद वा सङ्गठित अपराधसँग जोडिएको देखिँदैन। मिन्तजासको अघिल्लो अपराध र मानसिक स्वास्थ्यसम्बन्धी इतिहास पनि खासै फेला परेको छैन। उनी अहिले प्रहरी हिरासतमा छन् र हत्या प्रयास तथा अवैध हतियारसम्बन्धी मुद्दामा अदालतमा पेश गरिँदैछ।

पुलिसले उनले हतियार कसरी पाए भन्नेबारे अनुसन्धान तीव्र पारेको छ।

छिमेकीहरूले गोलीबारीको आवाजलाई “युद्धजस्तै” भन्दै रातभर डर र त्रासमा बिताएको बताएका छन्। गोलीहरू घरका पर्खाल, ढोका, सिसा र सडकका संरचनामा लागेका थिए। पुलिसले तुरुन्तै वरपरका सडक बन्द गरी क्षेत्रलाई सुरक्षा घेरामा राखेको थियो।