काठमाडौं। अविरल वर्षा र त्यसले निम्त्याउने बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सम्पूर्ण सवारी साधन तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
प्राधिकरणले शनिबार बिहान विज्ञप्ति जारी गर्दै असोज १८, १९ र २० गते उपत्यका भित्र–बाहिर चल्ने लामो दूरीका सवारीसाधन आवतजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट उत्पन्न हुने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न यस निर्णय गरिएको हो।
हाल कोशीदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि भारी वर्षा भइरहेको छ भने जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म निरन्तर वर्षा हुने प्रक्षेपण गरेको छ। केही स्थानमा अति धेरै भारी वर्षा हुनसक्ने चेतावनीसमेत दिइएको छ।
प्राधिकरणले यातायात व्यवसायीलाई अत्यावश्यक बाहेकका सवारीसाधन नचलाउन अनुरोध गरेको छ। साथै, सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई सवारी साधन आवतजावत रोक्न, निगरानी गर्न र कडाइका साथ कार्यान्वयन गर्न निर्देशनसमेत दिइएको छ।

प्रतिक्रिया