नेपालका प्रधानसेनापति अष्ट्रेलिया आउँदै, ईन्डोप्यासेफिक सम्मेलनमा सहभागी हुने

नेपालका प्रधानसेनापति अष्ट्रेलिया आउँदै, ईन्डोप्यासेफिक सम्मेलनमा सहभागी हुने


 सिड्नी, अष्ट्रेलिया । 

अष्ट्रेलियामा आगामी जुलाई २५ देखि २७ सम्म हुन लागेको ईन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरुको सम्मेलनमा नेपालका सेना प्रमुख प्रभुराम शर्मा पनि सहभागी हुने भएका छन् । नेपाल सरकारले उनको भ्रमणलाई अनुमति दिएसँगै भ्रमण तय गरिएको छ । गत २०७४ सालदेखि नेपाल यी बैठकहरुमा सहभागी भएको थिएन । त्यसअघि २०५६ सालदेखि भने नेपाल सहभागी हुँदै आएको थियो । 

हालै नेपालले अमेरिकाको स्टेट पार्टनरसिप कार्यक्रम एसपीपी अस्वीकार गर्ने निर्णय गरेको भएपनि त्यस सम्बन्धी पत्र भने अमेरिकालाई पठाइसकेको छैन । नेपालका सत्तारुढ दलहरुबीचमा नै अमेरिकाको ईन्डो प्यासेफिक रणनीतिको हिस्सा बन्ने विषयमा मतान्तर रहँदै आएको छ । नेपालका अधिकांश नेताहरु यसमा सहभागी हुन नहुने, यो चीनका विरुद्ध अमेरिकाले बनाएको गठबन्धन भएको धारणा राख्छन् । तर, सरकारले भने सहभागिता जनाउँदै आएको छ । पछिल्ला केही समय कोभिडका कारण यी बैठकमा सहभागिता रहेको थिएन । 

सिड्नीमा हुने सम्मेलनमा २७ देशका सेना प्रमुखहरुको सहभागिता रहने बताइएको छ । नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राममा सहभागी नहुने पत्र किन नपठाएको भन्ने विषयमा केन्द्रीय समिति बैठकमै काँग्रेसका महामन्त्री गगन थापाले प्रश्न गरेका थिए । यस्तै माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि यस विषयलाई जोडदार रुपमा उठाउँदै आएका छन् ।