एभरेष्ट सुपर ओभर कप २०२५ सम्पन्न, चितवन इगल्स विजेता

एभरेष्ट सुपर ओभर कप २०२५ सम्पन्न, चितवन इगल्स विजेता


होबार्ट, अष्ट्रेलिया। एभरेष्ट स्टार्स क्रिकेट क्लबको आयोजनामा पहिलो ऐतिहासिक एभरेष्ट सुपर ओभर कप २०२५ न्युटाउनस्थित क्विन्स वाक ओभलमा सम्पन्न भएको छ। पेनी रोयल कलेजको मुख्य प्रायोजनमा सम्पन्न यस प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको थियो।

छ-सदस्यीय नयाँ तरिकामा खेलाइएको यो कपमा प्रत्येक खेलाडीले एकपटक मात्र बलिङ गर्ने र हरेक ब्याट्सम्यानले एकपटक मात्र ब्याटिङ गर्ने नियम लागू गरिएको थियो। छोटो तर तीव्र गतिमा खेलिने यस तरिकाले दर्शकलाई निरन्तर रोमाञ्चक बनाएको थियो।

प्रतियोगिताको उद्घाटन साना नानी सान्वी र अश्रयाले पहिलो बल र ब्याटिङ गरेर गरेका थिए भने पुनम पन्तले महिलाको सहभागिताको प्रतिनिधित्व गर्दै पहिलो ब्याटिङ गरेकी थिइन्। प्रतियोगितामा एभरेष्ट स्टार्स क्रिकेट क्लब, थ्रीडी क्रिकेट क्लब, मूनलाइट राइनोज, काठमाडौं वोरियर्स र चितवन इगल्सले प्रतिस्पर्धा गरेका थिए।

करिब १५० भन्दा बढी दर्शकहरूको उपस्थितिबीच सम्पन्न फाइनल खेलमा चितवन इगल्सले शानदार प्रदर्शन गर्दै एभरेष्ट सुपर ओभर कप २०२५ को उपाधि हात पारेको छ। थ्रीडी क्रिकेट क्लब उपविजेता रह्यो। विजेता र उपविजेतालाई ट्रफी, पदक र नगद पुरस्कार क्लबका अध्यक्ष लक्ष्मण पन्थी र पेनी रोयल कलेजका प्रतिनिधिले वितरण गरेका थिए।

प्रतियोगितामा सुजीत रेग्मी र पियुष जोशी अंपायरको भूमिकामा रहेका थिए भने निरञ्जन भण्डारीले प्रत्यक्ष कमेन्ट्री प्रस्तुत गरेका थिए। खेललाई एक्जोटिक लेनमार्फत फेसबुक र युट्युबमा प्रत्यक्ष प्रशारण गरिएको थियो।

क्लबका अध्यक्ष लक्ष्मण पन्थीका अनुसार यो प्रतियोगिता केवल खेल मात्र नभई दशैंको समयमा समुदायलाई एकतामा बाँध्ने विशेष अवसर पनि भएको बताए। उनले यस प्रतियोगिताले भविष्यमा समुदाय र खेलकुदलाई अझ नजिक ल्याउनेमा आफू विश्वास रहेको बताए।