होबार्टमा टिका लगाएर विदेशीले पनि मनाए दशैं

होबार्टमा टिका लगाएर विदेशीले पनि मनाए दशैं


होबार्ट, अस्ट्रेलिया। तस्मानियाको होबार्टस्थित कोरोङ्गी डिमेन्सिया भिलेजमा यसपालि पहिलोपटक दशैं फेष्टिभल उत्साहसहित मनाइएको छ। नेपाली समुदायकै पहलमा आयोजना गरिएको कार्यक्रमलाई यहाँका सरकारी र स्थानीय समूदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थितिले भव्य बनाएको थियो। प्रमुख कार्यकारी अधिकृत डेमियन ज्याकब्स र फेसिलिटी म्यानेजर सामन्था क्रेगको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन समिर खरेलले गरेका थिए।

फोटो : समिर खरेलद्वारा उपलब्ध

५० भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा गीत, संगीत र नृत्यका प्रस्तुतिहरू समेटिएका थिए । समिर खरेल, बिकास श्रेष्ठ र भीम भट्टराईले प्रस्तुत गरेको शास्त्रीय संगीत, सुमिना थापा र समीक्षा थापाको नृत्य तथा रोनीश महर्जनको गायन कार्यक्रमको आकर्षण थियो । म्यानेजर सामन्था क्रेगले उपस्थित कर्मचारीलाई टिका लगाइदिएकी थिइन् । यस्तै कर्मचारीसँगै रेसिडेन्ट्सहरूले समेत टिका ग्रहण गर्दै दशैंको आत्मीयता र आशीर्वाद अनुभूत गरेका थिए ।

कोरोङ्गी डिमेन्सिया भिलेजमा कार्यरत नेपालीहरूको सक्रियताकै कारण यसपालि पहिलोचोटि दशैं पर्व आयोजना गर्न सम्भव भएको समिर खरेलले केबि खबरलाई बताए।। कार्यक्रममा नेपाली मात्र नभई अन्य समूदायका कामदार र रेसिडेन्ट्सहरूको पनि उत्साहपूर्ण सहभागिता थियो।

फोटो : समिर खरेलद्वारा उपलब्ध

तस्मानिया आफैंमा बहुसांस्कृतिक राज्य हो। पछिल्ला वर्षमा यहाँ नेपालीहरूको उपस्थिति उल्लेखनीय बनेको छ। पढाइ, रोजगारी र व्यवसायका कारण नेपालीहरूको बसोबास बढेसँगै उनीहरूको योगदान तस्मानियाको सामाजिक र सांस्कृतिक जीवनमा स्पष्ट देखिन्छ। यस किसिमका कार्यक्रमहरूले नेपाली समुदाय मात्र होइन, सम्पूर्ण तस्मानियालाई विविधताभित्र एकताको सन्देश दिएको आयोजकहरूको भनाइ छ।